काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडी फर्कन सम्भव नरहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निरङ्कुश हुकुमी शासन व्यवस्थालाई अन्त्य गर्दै जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडी फर्कन सम्भव नरहेको बताउनुभएको हो । प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गर्नुभयो ।
उहाले राजतन्त्र पक्षधरहरुले पहिला दिन पैसा दिएको मान्छे ल्याएको भन्दै दोस्रो र तेस्रो दिन मान्छेहरु घट्दै गएको जिकिर गर्नुभयो । अब राजतन्त्र फर्काउने नभइ देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउनेबाटोमा अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।
उहाले अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन खोजे लात्ताले हान्न सक्ने जिकिर गर्नुभयो । प्रधानमन्त्री ओली संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्ने फेरि राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने धारणा राख्नुभयो ।
उहाले आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्ने उल्लेख गर्दै प्रणालीमा केही कुरा फेर्न परे यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेर्ने उल्लेख गर्नुभयो । उहाँले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गर्नुभएको हो ।