काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनको गतिरोध खुलाउन सत्तापक्षसंग भएको सहमतिमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।
शनिबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले एक महिनाभित्र छानबिन समिति बनाउने सहमतिपछि संदनको गतिरोध हटाउने सहमति भएको भन्दै यसमा आशंका नगर्न आग्रह गर्नुभएको हो ।
उहाले भिजिट भिसा प्रकरण अग्नि सापकोटासंग साट्यो भन्ने प्रचार बिल्कुल गलत भएको जिकिर गर्नुभयो । जनताको समस्याहरुको समाधान तथा निजामति सेवा ऐन, शिक्षा ऐन तथा टिआरसी बारे छलफल गरेर टुङ्ग्याउनै पर्ने भएकाले संसदमा अवरोध गरिरहनु उचित नलागेको प्रचण्डले बताउनुभयो ।
उहाँले गृहमन्त्रीको राजीनामा भन्दा छानबिन गरेर नीति तथा संरचना बनाउनु आवश्यक भएको धारणा राख्नुभयो । त्यस्तै उहाले प्रमुख दलका तीनजना नेताहरुको बारेमा छरिएको भ्रम गलत भएको बताउदै कुनै विषयलाई लिएर आरोप लगाउने कार्य राजावादी र अराजकतावादीहरुले गरिरहेको गुनासो गर्नुभयो ।
पूर्व राष्ट्रपति वा उपराष्ट्रपतिलाई पुनः राजनीतिमा प्रवेश गर्न नपाउने कानुन आवश्यक छ कि छैन भनेर सोधिएको प्रश्नमा प्रचण्डले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले नछेकेको र विश्वको कुनै परम्पराले नरोकेकोले राजनीतिमा फर्कन पाउने जिकिर गर्नुभयो । फरक प्रसंगमा प्रचण्डले आफुले जनार्दन शर्मालाई पार्टी छोड्न भनेर कतै नभएको स्पष्ट पार्नुभयो ।