काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षार्थ दुई बुँदे सहमति गरिएको दावी गर्नुभएको छ ।
प्रेस सेन्टर नेपाल चितवनले मंगलबार प्रचण्डको नीजि निवास भरतपुर १४ शिवनगरमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा पत्रकारले राखेका जिज्ञासामा प्रचण्डले दुई बुँदे सहमति तत्कालको स्टेपमात्रै नभइ संविधानको रक्षार्थ भएको बताउनुभएको हो ।
प्रचण्डले संघीय लोकतान्त्रीक गणतन्त्रमा समावेशी प्रतिनिधित्व लगाएत वर्तमान उपलव्धी माओवादीको एजेण्डा भएको दावी गर्दै यसको रक्षाका लागि दुई बुँदे सहमति गरि सत्ता पक्षकै जस्तो भूमिका निर्वाह गरेको जिकिर गर्नुभयो ।
प्रचण्डले संघीय निजमति ऐन, विद्यालय शिक्षा विधेयक पनि आफ्नै सरकारको पालोमा अगाडि बढेकोले दुई बुँदे सहमति मार्फत त्यसको जिम्मेवारी लिन खोजेको प्रष्ट पार्नुभयो ।
प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन र नीतिगत सुधार गर्नुपर्ने बताउनुभयो । यस मुद्दालाई त्यत्तिकै नछाड्ने उहाको भनाइ छ ।