माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश

admin

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बुधबार सकिएको थुनछेक बहसपछि विशेष अदालतको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासबाट सो आदेश जारी गरिएको अदालतका प्रवक्ताले जानकारी दिए।

नेपालको पक्षबाट पाँच जना कानुन व्यवसायीले बहस गरेका थिए। तीमध्ये पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गोविन्द बन्दी लगायतले उनलाई बिनाशर्त रिहा गर्न माग गरेका थिए। तर, सरकारी पक्षले भने उनलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग राखेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक हिनामिनामा संलग्न भएको अभियोगमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। बयान र थुनछेक बहस सकिएपछि अदालतले नेपाललाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

प्रतिक्रिया