नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रचलित कानुनअनुसार दोषी ठहरिएको व्यक्तिलाई कांग्रेस भएकै आधारमा उन्मुक्ति दिनु अनुचित हुने स्पष्ट पारेका छन् ।
सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले कांग्रेस सधैं विधिको शासन र कानुनी प्रक्रियामा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै भने, “हामी कानुनको शासनमा विश्वास गर्छौँ। जो दोषी छन्, उनले सजाय पाउनुपर्छ, निर्दोष कोही फस्नु हुँदैन।”
थापाले अपराधीको दलगत हैसियतलाई न्यायको आधार बनाइनु नहुने धारणा व्यक्त गरे । “कसैले कांग्रेसको नाममा अपराध गरेको छ र कानुनले दोषी ठहर गरेको छ भने, कांग्रेस भएकै कारण उन्मुक्ति दिन मिल्दैन,” उनले प्रस्ट पारे ।
तर, उनले कांग्रेस भएको नाताले कसैलाई नियोजित रूपमा दोषी देखाउने प्रयास भएमा भने पार्टी त्यसको प्रतिरक्षा गर्न पछि नपर्ने पनि स्पष्ट गरे ।