संविधानको भावनाअनुसार भूमि सुधारका कार्यक्रम ल्याउन माग

कृष्ण रोकाया

काठमाडौँ २७ भदौ : राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बलराम बाँस्कोटाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक बनाउन समानतामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा उहाँले भन्नुभयो, “समानताका लागि भूमिसुधार आवश्यक पर्छ । भूमिसुधारमा राजनीतिक दलले किन चासो देखाएनन् ? भूमिसुधारलाई कनिका छराइका रुपमा हेरिनु हँुदैन । संविधानको भावनाअनुसार भूमि सुधार आवश्यक पर्छ । ”

सांसद मुक्ताकुमारी यादवले तराई–मधेशमा धान रोप्नुपूर्व डुबानमा प¥यो, अहिले अलिअलि रोपिएका धान पनि पानी नपरेर सुक्खाग्रस्त भयो, धानका गरामा चिराचिरा परेको छ, यस्तो अवस्थामा तराई÷मधेशका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले गत वर्ष जस्तै तराई–मधेश रोपाइँ भयो भन्ने तथ्याङ्क सार्वजानिक ग¥यो । व्यवहारमा यस्तो छैन ।” सांसद चक्रप्रसाद स्नेहीले सदनमा सांसदले उठान गरेका विषयमा सरकारको ध्यान गएको छ कि छैन ? के कति पूरा भयो, के कारणले सांसदले बोलेका कुरा पूरा भएन ? जवाफ दिनुपर्छ कि पर्दैन भन्ने प्रश्न गर्नुभयो ।

उहाँले सामुदायिक विद्यालयमा कार्यरत दश जोड दुईका शिक्षक, कर्मचारी, कार्यालय सहायक, बालविकास सहायकका माग पूरा गराउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँका अनुसार हाल सामुदायिक विद्यालयमा ३५ हजार ३१८ कर्मचारी र २९ हजार ४६ कार्यालय सहायक, ३० हजार ४४८ बाल विकास सहायक कार्यरत रहेका छन् ।

सांसद रामप्रीत पासवानले विसं २०८७ सम्ममा साक्षर नेपाल बनाउने सरकारले अभियान पूरा हुन नसक्ने अवस्थामा रहेको बताउँदै दलित, मुस्लिम समुदायमा विशेष साक्षर अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो । “साक्षर नेपाल अभियान बालुवामा पानी हालेजस्तो भयो, साक्षर अभियानमा हालसम्म के कति खर्च भयो सार्वजनिक गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद रामनारायण बिंडारीले हरेक क्षेत्रमा मिसावट हुँदा यसको असर सर्वसाधारण जनताको स्वास्थ्यमा असर परिरहेको छ, सरकार के हेरेर बसिरहेको छ भन्ने प्रश्न गर्दै खाद्यान्न, फलफूल तथा तरकारी मिसावट गर्नेमाथि कारवाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “मिसावट गर्नेमाथि कारवाही भयो भन्ने कहिले सुन्ने ?”

सांसद डा विमला पौडेलले दूध आउने समयसम्म गाईको दूध खाने, दूध आउन छाडेपछि गाईलाई सडकमा छाडिदिने परम्परालाई अन्त्य गर्न स्थानीय निकायले विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।

छोडिएका जनावर व्यवस्थापनसम्बन्धी नीति बनाउन र छाडा जनावर व्यवस्थापनमा सरकारले के गरिरहेको छ ? जानकारी दिन सरकारसँग उहाँले माग गर्नुभयो । सांसद धनकुमारी खतिवडाले ‘मेलम्ची खानेपानी आउँछ आउँछ’ कति वर्षसम्म जनतालाई भन्ने प्रश्न गर्दै मेलम्चीको मुहान स्थानमा भएको आन्दोलनमा सरकारले श्रमिकमाथि दमन गरेकामा दुःख व्यक्त गर्नुभयो ।

श्रमिकले आफ्नो ज्याला माग गर्दै आन्दोलन गर्दा किन दमन गरियो भन्ने प्रश्न गर्दै सांसद खतिवडाले मेलम्चीको बाँकी काम सम्पन्न गर्न नयाँ ठेकेदारलाई के आधारमा ठेक्का दिइयो सोको जानकारी दिन सरकारसँग माग गर्नुभयो ।

सांसद दिलकुमारी रावलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका ५६ जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण गर्न ध्यान नदिएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले आम नागरिकलाई सो रोग नियन्त्रणका लागि परिचालन गर्न आह्वान गर्नु जरुरी रहेकामा जोड दिनुभयो । रासस

प्रतिक्रिया