माल्दिभ्समाथि नेपालको सहज जित

admin

काठमाडौँ, २० मङ्सिर: तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । जीतको लागि नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभारमा ६ विकेट गुमाएर ७९ रनमा समेटियो ।

माल्दिभ्सका लागि मोहमद आजमले सर्वाधिक १७ रनको योगदान दिए भने मोहमद रिस्वानले १३ तथा अलि इभानले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालले सुशन भारी र ललित राजवंशीले समान दुई÷दुई विकेट लिए भने पवन सर्राफले १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रनको योगफल बनाएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक ४० रनको योगदान दिए । १६ बल खेलेको उनले ६ चक्का र २ चौका प्रहार गर्दै अविजित ४० रनको योगदान दिएका हुन् । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । उनले ३६ बल खेल्दै २ चौकाको मद्वतमा ३९ रन जोडेका हुन् । राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान १९÷१९ रन जोड्दा आरिफ शेखले १७, पारस खड्काले ११ तथा रोहित पौडेलले १० रन जोडे ।

बलिङतर्फ माल्दिभ्सका लिम शफिगले ३ तथा अमील मौरुफले २ विकेट हात पारे । यसअघि नेपालले खेलेको दुई खेलमा एक खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो ।

नेपालकी कोइराला सेमिफाइनलमा
सागअन्तर्गत टेनिसको महिला एकल विधामा नेपालकी प्रेरणा कोइराला सेमिफाइनलमा पुग्नुभएको छ । सात दोबाटोस्थित टेनिस कोर्टमा आज भएको क्वाटरफाइनल खेलमा प्रेरणाले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७–५ र ६–१ ले पराजित गर्दै सेमिफाइनमा पुग्नुभएको हो । यससँगै उहाँको कास्य पदक पक्का भएको छ ।

सोही विधामा नेपालका अन्य खेलाडी भने क्वाटरफाइनलमै समेटिनुभयो । नेपालकी सलोनी तामाङ भारतकी सौजन्या भावी सेटीसँग ६–२ र ६–३ ले पराजित हुनुभयो । त्यस्तै आजै भएको पुरुषको एकलतर्फको विधामा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वाटरफाइनलमा पराजित हुनुभयो । प्रणव पाकिस्तानका मोहम्मद मुर्तजासँग ६–० र ६–१ ले पराजित हुनुभयो भने संरक्षक भारतका मनिष सुरेश कुमारसँग ६–० र ६–० ले पराजित हुनुभयो ।

प्रतिक्रिया