पोखरा : प्रसिद्ध गीतकार एवम सङ्गीतकार सुक गुरुङका् सम्झनामा पोखरामा शोक सभा गरिएको छ । ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, दोष कसैलाई दिन चाहन्न, आँखैमा झल्झली हितैको दौतरी, दोबाटोमा आँखाहरु नजुधेको होइन, भाइटिकामा भेट्न आउनु है’ लगायतका गीतका सर्जक गुरुङको १३ औं पुण्यतिथिमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
अन्तर्राष्ट्रिय नेपाली गीत सङ्गीत मञ्चले शनिबार पोखरामा आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथी लाक्पा लामा रहेका थिए । लामो समय पोखरामा रहेर सङ्गीत प्रशिक्षण गरी हाल काठमान्डौ रहेका लामाले पोखरामा आफुले उत्पादन गरेका विद्यार्थीहरु नाम लिदै सुक गुरुङ जस्ता प्रतिभावान सर्जकलाई अल्पायुमा गुमाउदा आफुलाई पीडा भएको बताएका थिए । शोक सभामा उनका कालजयी गीतमा स्वर भरेका गायक रबिन श्रेष्ठले यू.के.बाट आफ्नो सह यात्राको स्मरण गर्दै त्यति ठूलो बिमार हुदा नि उत्तिकै हासो ठट्टा मजाक गरेर जीवन बिताएको देख्दा गीत सङ्गीतको जस्तै सुक दाइमा जीवन जिउने कला नि उत्तिकै रहेको मैले उहाँ बिरामी भएपछिको भेटमा पाए भन्दै शोक मन्तब्य पठाउनु भएको थियो ।
त्यस्तै यू.के. बाटै आउनु भएकी सुक गुरुङ बचाऊ अभियानकी संयोजक एवम शुभचिन्तक सुधा गुरुङले कलाकारहरुको अत्यधिक पिउने बानीले गर्दा असमयमै हामीले सुक गुरुङ्ग जस्ता होनहार सर्जकलाई गुमाउनु परेकोमा दुख ब्यक्त गरिन। साथै उनी लगायत अन्य होनहार कलाकारलाई पनि यस्तै समस्याले गर्दा असमय मै गुमाउनु परिरहेको तितो यथार्थलाई ध्यानमा राखेर नयां पिढीका कलाकारहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कलालाई दिगो राख्न सो तर्फ ध्यान दिई जीवनको महत्व बुझ्न अनुरोध गरेकी थिइन । गुरुङ्गले दुई बर्ष अघि केवल २ हप्ताको छोटो अन्तरालमा सुक गुरुङ्ग बचाऊ अभियानका लागि बेलायतबाट १६ लाख रुपैया संकलन गरि पठाएकी थिइन! कार्यक्रममा “सुक गुरुङ उपचार सहयोग समिति”का सम्योजक जगन गुरुङ, साहित्यकार मदन भण्डारी, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ लगायतले सुक गुरुङको विषयमा चर्चा र स्मरण गरेका थिए । स्वर्गीय सुक गुरुङकी धर्मपत्नी जुना गुरुङ सहित कार्यक्रममा परिवारका सदस्यहरुको बाक्लो उपस्थिति थियो ।
शोक सभामा गायक विनित जोजिजु र सुनिल बराल र रामभक्त जोजिजूले गुरुङका गीतलाई प्रस्तुत गरेका थिए । लामो समयदेखि मधुमेह र मृगौला रोगबाट पिडित गुरुङको पौष ६ गते आइतबार निधन भएको थियो । पेशाले भिडियो सम्पादक समेत रहेका गुरुङ २०५० देखि ६० को दशकमा सिर्जनामा चर्चामा थिए । उनको आफ्नै ११ एल्बम बजारमा आएका छन् भने एकल संगीत र रचना रहेको इसारा भाग १ उनको पहिलो एल्बम भएको परिवार स्रोतले जानकारी गराएको छ ।
गुरुङको परिवारमा श्रीमती जुना सहित दुई छोरा एक बुहारी रहेका छन् । उनी लामो समयदेखि पोखरा महानगरपालिका २७ आवासनगर डाँडाकोनाकमा बस्दै आएका थिए । उनको स्थायी ठेगाना भने चितवन जिल्लाको दिव्यनगर हो । परिवारका अनुसार गीत लेख्नमा असाध्यै रुची राख्ने सुक गुरुङले मदिरा सेवन बढीनै गर्थे जसकारण उनी छिटो रोगी भए । ५४ वर्षको उमेरमै उनको निधन भयो । नेपथ्य ब्याण्डका अमृत गुरुङ र भीम पुन उनका सहपाठी हुन् ।
अन्तर्राष्ट्रिय नेपाली गीत सङ्गीत मञ्च पोखरा नेपालका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अग्रज तबलाबादक श्यामलाल श्रेष्ठ, कृष्ण मर्सानी लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन महासचिव सुमन श्रापितले गरेका थिए ।