काठमाडौं, १० चैत : नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन कुमार थापाले सरकारले स्थापना गरेको कोरोना कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न प्रस्ताव गरेका छन् ।
सोमबार समाजिक सञ्जाल ट्वीटरमार्फत सांसद थापाले उक्त प्रस्ताव गरेका हुन् । उनले जसले जहाँबाट जति सक्छौँ, कोरोना कोषमा सहयोग गर्न र विपदमा श्रोत जुटाउन आग्रह गरेका छन् ।
‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं,’ उनले ट्वीटरमा लेखेका छन्, ‘जसले जहाँबाट जति सक्छौँ, यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’
सरकारले यो विपदमा एक जना नागरिकलाई पनि अप्ठ्यारो पर्न नदिनेगरी काम गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले कोरोना कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेको थियो ।
बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक उपचार तथा उपकरणको व्यवस्था गर्ने भन्दै ५० करोडको कोष स्थापना गरेको थियो ।