लकडाउनको अवस्थामा दुर्घटना, भारतीय दुई साइकलयात्रीको ज्यान गयो

admin

ललितपुर, १७ चैत : वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको ज्यान गएको छ । सोमबार बिहान झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर तिनको घटनास्थलमै ज्यान गएको हो ।

ज्यान जानेमा भारत, मोतीहारी वैरिया जिल्ला घर भएका २८ वर्षीय सन्तोष महतो र मोतीहारी ३ घर भएका २१ वर्षीय मुकेशकुमार गुप्ता रहेको इलाका प्रहरी कार्यालय छपेलीका प्रहरी सहायक निरीक्षक मोहनकुमार भडेलले जानकारी दिए ।

उनले भने, “ सन्तोष लडेर सडकबाट ५० र मुकेश लडेर १५० मिटर तल पुगेका थिए । ” कोभिड-१९ सङ्क्रमणका क्रममा मुलुकमा लकडाउन भइरहेका बेला उनीहरुसहित चार जना कान्ति लोकपथ हुँदै भारत जाने क्रममा रहँदा दुईको ज्यान गएको खुल्न आएको छ ।

मुकेशका पिता सुरेशकुमार र अर्का छिमेकी दीनानाथ प्रसाद दुईजनाका पछिपछि अर्को साइकलमा गइरहेको हुँदा उक्त कुराको जानकारी बाहिर आएको हो । उनीहरु लकडाउन हुनुअघि चापागाउँ बसेर कवाडी कारखानामा काम गर्ने गरेको खुल्न आएको छ ।

प्रतिक्रिया