काठमाडौँ, २५ चैत :सरकारले कोभिड–१९ रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स सञ्चालक संस्थामार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि उक्त सङ्ख्यामा एम्बुलेन्स तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।
नोभल कोरोना (कोभिड–१९) रोगको सङ्क्रमण, रोकथाम सम्बन्धमा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको आजको बैठकले यातायात आवागमनलाई कडाइ र निगरानी कायम राख्दै अत्यावश्यक खाद्यवस्तुको आपूर्ति व्यवस्थालाई नियमित गर्ने निर्णय गरेको छ । सरकारले जारी गरेको आदेशअनुरुप यातायात आवागमनलाई स्वाभाविक र सामान्य राख्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको उक्त बैठकले कोभिड–१९ नियन्त्रणका लागि चालेको कदमको समीक्षा गरेको थियो । यस रोग नियन्त्रण र रोकथामका लागि तत्काल आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री प्रचलित कानूनको अधिनमा रही छोटो र छिटो विधिबाट खरिद प्रक्रिया अघि बढाएको छ ।
सरकार–सरकारबीचको समन्वयमा त्यस्ता सामग्री प्राप्त गर्न स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा आवश्यक सङ्ख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत प्रक्रिया अघि बढाइएको छ । सरकारले स्वास्थ्य सेवा विभागबाट प्रतिस्पर्धाका आधारमा ल्याउने सामग्रीका लागि प्रक्रिया कायम नै राख्ने व्यवस्था मिलाएको छ । विदेशस्थित कूटनीतिक नियोगबाट पनि त्यस्ता सामग्री सहयोग प्राप्तिका लागि पहल हुने छ ।
कोभिड–१९ को सङ्क्रमणबाट मुलुकको जनजीवन र अर्थतन्त्रमा पर्ने असर मूल्याङ्कन गर्न राष्ट्रिय योजना आयोगलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको सचिव बिडारीले जानकारी दिनुभयो । सरकारले मुलुकमा हालको बन्दाबन्दी (लकडाउन)लाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय उडान स्थगित अवधि यही अप्रिल ३० गतेसम्म कायम राख्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । यसअघि उक्त समय अप्रिल १५ सम्मका लागि घोषणा गरिएको थियो ।
बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण गर्ने सन्दर्भमा बढी प्रभावको शङ्का गरिएको कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा शङ्कास्पद व्यक्तिको द्रुतगतिमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको छ । समितिले अन्य रोगको सङ्क्रमण रहेको डोटी, अछाम र जुम्लामा स्वास्थ्य उपचारसम्बन्धी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।