कैलाली, १ वैशाख : कैलालीको लम्की चुहा नगरपालिका १ की एक महिलामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।
वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उनी १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकी थिइन् । १७ दिन क्वरेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो ।
सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउन स्वास्थ्यकर्मीको टोली गएको अस्पतालले जनाएको छ ।
सोमबार नयाँ सङ्क्रमित पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १३ पुगेको छ, जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
बाँकी ११ मध्ये सेती प्रादेशिक अस्पताल धनगढीमा चार जना, नारायणी अस्पताल वीरगन्जमा तीन तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बाग्लुङमा दुई-दुई जनाको उपचार भइरहेको छ ।
केही दिन अघि पनि धनगढीकी ३४ वर्षीया महिलालाई क्वरेण्टीनबाट घर पठाएपछि कोरोना देखिएकोमा सोमबार फेरि ६० वर्षीया महिलालाई कोरोना देखिएपछि घरबाटै अस्पताल ल्याउन लागिएको हो ।
केही दिन अघि दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो । त्यसपिछ परिवारका सबै सदस्यलाई १५ गते धनगढी रङ्गशालामा बनाइएको क्वरेण्टीनमा ल्याइएको थियो ।
उनीहरुलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि घर पठाइएको पाइएको थियो । घर पठाएको दोस्रो दिन परिवारका सदस्यको स्वाब सङ्कलन गरिएकोमा तीन दिनपछि ती पुरुषको घरकै ३४ वर्षीया आफन्तलाई कोरोना पुष्टि भएपछि घरबाटै ल्याइएको थियो ।
यस्तौ, दुबईबाट आएका धनगढीका युवक, उनकी आफन्त, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।