प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका जिल्लाका पहिलो पत्रकार, मण्डल अस्पताल भर्ना

admin

महोत्तरी, ७ बैशाख : मुलुककै जेठा पत्रकारमध्येका महोत्तरी, मटिहानी नगरपालिका-५ का ८८ वर्षीय बिन्देश्वरीप्रसाद मण्डल अस्पताल भर्ना भएका छन् ।

रक्तअल्पताले सिकिस्त भएपछि उनलाई जनकपुरधामको बजरङ्गचोकस्थित जानकी हेल्थ केयर अस्पतालमा भर्ना गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका प्रथम सभापति रहेका मण्डल प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउने जिल्लाका पहिलो पत्रकार हुन् ।

मण्डललाई विसं २०६६ मा यो सम्मान प्रदान गरिएको हो । जिल्लाबाट प्रकाशित हुँदै आएको तथ्य साप्ताहिकका सम्पादक मण्डल केही दिनयता अस्वस्थ्य भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको हो ।

चिकित्सकले उनमा रक्तअल्पता मुख्य समस्या रहेको औँल्याएका कान्छा छोरा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

राजनीतिक गतिविधिमा गहिरो अभिरुचि राख्ने मण्डल मटिहानी गाउँपञ्चायत छँदा प्रधानपञ्च रहेका छन् ।

मण्डलका तीन छोरामध्ये जेठा रामकुमार मण्डल महासङ्घ महोत्तरी शाखाका सभापति र गाउँपञ्चायतको प्रधानपञ्च भइसकेका छन् ।

त्यसैगरी अहिले मटिहानी नगरपालिकाका प्रमुख रहेका कान्छा छोरा हरिप्रसाद मण्डल महासङ्घ महोत्तरी शाखाको तीन कार्यकाल अध्यक्ष थिए ।

प्रेस स्वतन्त्रता सेनानी मण्डल अस्पताल भर्ना भएपछि यस भेगका पत्रकार उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगिरहेका छन् ।

महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्रसिंह चौहान र महोत्तरी शाखा अध्यक्ष कमलेश मण्डलले मण्डलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया