काठमाडौंका सडकमा ढकमक्क फूल

admin

काठमाडौं, १० बैशाख : त्रिपुरेश्वरबाट सुन्धारातर्फ लाग्ने सडक किनारामा ढकमक्क फूल फुलेका छन् । वसन्त ऋतुको आगमनसँगै यहाँका बिरुवा हुर्कँदैछन् । नयाँ सडक अघिल्तिरको आइल्याण्डमा हेरुँ हेरुँ लाग्ने फूल फुलेका छन् ।

बन्दाबन्दीका कारण सवारी साधन आवतजावत नहुँदा काठमाडौंको शहरी सौन्दर्य निर्माणका काममा सहजता देखिएको हो । कोरोना रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमै सुन्धारा र शङ्खधरपार्क नजिक रहेका ट्राफिक आइल्याण्ड निर्माण हुँदैछन् ।

ती आइल्याण्डको साविक संरचनामा सुधार गरेर परम्परागत इँटा र नयाँ ढाँचाको पूर्वाधार तयार पारिसकिएको छ । ती संरचनामा माटो भर्ने काम पनि भइसकेको छ तर बन्दाबन्दीले फूल र बिरुवा ढुवानी हुनसकेको छैन । अवस्था खुकुलो हुनेबित्तिकै बोट बिरुवा रोपिने भएको छ ।

काठमाडौं महानगरपालिकाको वातावरण विभागले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापन, सडक तथा सार्वजनिक स्थान बढार्ने, झार उखेल्ने, सतह ढलको सफाइ गर्नेलगायत कामलाई नियमित गरिरहेको छ ।

विभागका अनुसार सुन्धारा ट्राफिक आइल्याण्डमा ७५० बोट सिजनल फूल रोपिने तयारी छ । जहाँ एलिजिया, साइकस पाम, सेप्लेरिया भेरिगेटर, नीलगाई, इलिगन, फोनिक्स पाम, ड्रेसोना, क्लोटन, जनादो पाम, प्याराडाइज र रेक्सोना पाम रोपिनेछन् ।

सुन्धाराका चार वटा आइल्याण्डलाई साबिक संरचनाको उचाइ बढाएर साढे दुई फिटका बनाइएका छन् । चौपाया चढ्न नसक्ने र मान्छेले फूल चुँडेर हिँड्न नसक्ने गरी उचाइ बढाइएको छ । ती आइल्याण्डमा १४ प्रकारका फूल तथा बोटविरुवा रोपेर हरियाली र सुन्दरता बढाइने छ ।

शङ्खघर नजिकको आइल्याण्डमा पनि यसैअनुसारका विरुवा रोपिने भनाइ छ । बन्दाबन्दीपछि यहाँका स्थाीय तह दैनिक प्रशासनिक काम राहत वितरणका लागि तथ्याङ्क सङ्कलन, राहत वितरण, भाइरस रोकथामका लागि प्रचारप्रसार र खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको बजार व्यवस्थापनमा पनि केन्द्रित छन् ।

प्रतिक्रिया