आमाको मृ*त्यु, बाबु बेपत्ता, छोराछोरीको बिचल्ली

राष्ट्रिय समाचार समिति

डोटी, २३ वैशाख: आफूलाई लालनपालन गर्दै आउनुभएकी आमाको मृ*त्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्षीया जानकी थापालाई आमा इशारा थापाले पालनपोषण गर्दै आउनुभएको थियो ।

आमा इशाराको दुई सातापहिले मृ*त्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको स्थानीय तेज डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “इशाराले दुःखकष्ट गरेर नानीबाबु पाल्दै आउनुभएको थियो, उहाँको पनि मृ*त्यु भएपछि अहिले खाने, बस्नेदेखि अन्य कुरामा बालबालिकालाई समस्या भएको छ ।”कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लकडाउन गरेपछि खाद्यान्न मागेर तथा किनेर ल्याउन नसकेका कारण पनि ती बालबालिकालाई दैनिक छाक टार्नसमेत हम्मेहम्मे हुन थालेको स्थानीयवासी बताउँछन् ।

सरकारी क्षेत्रबाट पाउने राहतसमेत निजहरुले पाउन सकेका छैनन् । घरमा भएको खाद्यान्नसमेत समयमै पकाएर दिने मान्छे नभएका कारण उनीहरुलाई दिनहुँ समस्या हुँदै आएको अर्का स्थानीय तेजबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा खेतीपातीको ‘सिजन’ शुरु छ, सबै मान्छे आफ्नै काममा व्यस्त छन्, ती नानीबाबुलाई खाना दिने मान्छेसमेत छैनन् ।”

गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले आमाको मृ*त्यु भएपछि बिचल्लीमा परेका ती बालबालिकालाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आमाबुबा नभएर समस्यामा परेका नानीबाबुलाई के–कस्तो सहयोग गर्न सकिन्छ गाउँपालिका गर्न तयार छ र गर्नेछौँ ।”

भारतमा बेपत्ता भएका शेरबहादुरको खोजीका लागि पटक–पटक प्रयास भए पनि उहाँको अझै कहीँकतै पत्तो नलागेको अध्यक्ष डुम्रेलले जानकारी दिनुभयो । घरमा ७५ वर्षीया हजुरआमा भए पनि राम्रोसँग हिँडडुल गर्न सक्ने नभएका कारण झनै समस्या भएको पीडित बालक कर्ण थापाले बताए । उनले भने, “भाइबहिनी साना छन्, हजुरआमा हिँड्न सक्नुहुन्न, के–कसरी बाँच्ने निकै समस्यामा छौँ ।”

उनीहरुको आर्थिक अवस्था पनि निकै कमजोर रहेको बताइएको छ । खेती गर्ने जमीन नहुँदा उनीहरुले सामाजिक सुरक्षाभत्ता र अर्काले दिएको भरमा आफ्नो जीवन निर्वाह गर्दै आएका थिए । हजुरआमाले सामाजिक सुरक्षाभत्ता पाउने भएकाले घर खर्च चल्दै आएको र पछिल्लो समय लकडाउनका कारण सामाजिक सुरक्षाभत्ता समयमै वितरण हुन नसकेका कारण झनै समस्या हुँदै आएको पीडित बालबालिकाको गुनासो छ ।

आमाको मृ*त्युसँगै आफूहरुको पढाइमा समेत बाधा पुग्ने उनले दुःखेसो पोखे । श्रीमान् बेपत्ता भएसँगै इशाराको समेत मानसिक सन्तुलन गुमेका कारण मृ*त्यु भएको स्थानीयवासी बताउँछन् । आमाको मृ*त्यु तथा बाबु बेपत्ता भएर बिचल्लीमा परेका निज बालबालिकालाई सबै नागरिकले सहयोग गर्न स्थानीयवासीले आग्रह गरेका छन् ।

प्रतिक्रिया