सरकारले जनताको व्यथालाई ध्यान नदिएको भन्दै, सांसद थापाद्वारा व्यङ्ग्यात्मक शैलीमा आलोचना

राष्ट्रिय समाचार समिति

काठमाडौं, २९ बैशाख : प्रतिनिधिसभाको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ ।

बैठकको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम र मजदूरी कामसमेत प्रभावित भएका बेला स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउन माग गरेका हुन् ।

कांग्रेसका सांसद गगन थापाले सरकारले जनताको व्यथालाई ध्यान नदिएको भन्दै व्यङ्ग्यात्मक बाल कवितामार्फत् आलोचना गरेका थिए । भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

भारतले नेपाली भूमि मिचेको विषयमा थापाले कविताको पहिलो हरफमा भनेका छन्, ‘छैन यहाँ देशको नक्सा मेटिएको, न त लिपुलेकलाई डोजरले रेटिएको, यस्तो सबल सरकार छ सीमा कसले मिच्ने, कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने ।’’

थापाले कोरोना महामारीको समयमा गरिब जनताले राहत नपाएको, विदेशमा अलपत्र परेका नागरिकहरुको आवाज सरकारले नसुनेको भन्दै ब्यंग्य गरेका छन् ।

कविता यस्तो छ
म त भाग्यमानी
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको
यस्तो सबल सरकार छ सीमा कसले मिच्ने
कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने
सयौँं कोस हिड्दा पनि श्रमिक छैनन आहत्
गरिबलाई सम्मान छ गरिबलाई राहत
विदेशमा कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ती नेपाली नै होइनन् ।
जनताको ब्यथालाई ध्यान दिएर सुन्ने
कृषक साना व्यापारीको सारै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नि
हावादारी हल्ला हुन ओम्नी र यती
सबैतिर वाह वाह यस्तो विकास देख्दा
पत्रकार नि दंग छन् यी समाचार लेख्दा
कोमल हृदयका प्रधानमन्त्री आँसु कवि हाम्रा
दिन नबिराइ सिर्जना छ, आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत कविता भट्याउँदै कालापानी जाउँला
सारा नेपाल हाँसेको छ मेची काली गाउँछ ।
आँसु आए बरु त्यही गीतले आउँछ ।
यस्तो नायक गजबका ल्यायौँ जानी जानी
ओहो हामी नेपाली त सारै भाग्यमानी
आ हो साह्रै भाग्यमानी, म त भाग्यमानी ।

राष्ट्रिय जनता पार्टीका सांसद चन्दा चौधरीले भारतको विहार राज्यमा १४ दिन क्वारेन्टाइनमा बसिसकेका नेपालीलाई पनि नेपाली सीमामा आफ्ना नागरिकलाई आउन नदिनु कहाँको नियम हो भनी प्रश्न गरिन् ।

कांग्रेसकी सांसद उमा रेग्मीले सीमामा आएका नेपालीलाई स्वास्थ्य जाँच गरेर स्वदेश फर्काउन माग गरिन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले प्रश्न गर्दै भने, “के सीमा बसेका नेपाली नागरिक होइनन् ? तिनलाई स्वदेश ल्याउनु सरकारको दायित्व होइन ?”

तर, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खेमप्रसाद लोहनीले कोरोना रोकथाममा सरकारको प्रयास प्रशंसनीय भएकाले सीमा नाकामा अझै कडाई गर्नुपर्ने र विदेशमा रहेका नागरिकको उपचारमा आवश्यक पहल गर्न आवश्यक रहेको बताए ।

नेपाली भूमिको रक्षामा एकताबद्ध हुन आग्रह
सत्तारुढ नेकपाका खगराज अधिकारीले नेपाली भूमि बारम्बर विदेशी हस्तक्षेपको सिकार भएकामा सरकारको ध्यानाकर्षण गराए । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएकामा खेद व्यक्त गर्दै उनले यसका विरुद्ध सबै नेपाली एक भएर लड्नुपर्ने बताए ।

सोही पार्टीका गणेशकुमार पहाडीले पनि भारतले अतिक्रमण गरेको भूमिमा नेपालको राजनीतिक र प्रशासनिक भूमिका हुनुपर्ने बताए । सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको पौलामा सशस्त्र प्रहरीको क्याम्प तत्काल राख्न माग गरे ।

सांसद गङ्गा चौधरी सत्गौवाले नेपाली भूमि मिचिएकामा स्वाभिमानी नेपालीले सहन नसक्ने भन्दै भारतको यो व्यवहारविरुद्ध अन्तरराष्ट्रिय अदालतमा जानुपर्ने बताइन् । सांसद घनश्याम खतिवडाले जङ्गे पिलरका नामबाट पटकपटक भारतले नेपाली भूमि अतिक्रमण गरेको र अर्को छिमेकी चीनले पनि यसमा उचित व्यवहार नगरेको बताए ।

सांसद जिपछिरिङ लामाले भारतले ठूलो भाइको शैलीले जहिल्यै पनि नेपाललाई हेप्दै आएको उल्लेख गर्दै सरकार र नेतालाई भारतीय मिचाहापूर्ण कार्यबारे थाहा छ कि छैन भनी प्रश्न गरे ।

सांसद उमाकान्त चौधरी सरकारले दुई अध्यादेश किन ल्याइयो र किन फिर्ता गरियो भन्ने थाहा हुनुपर्ने माग गरे । सांसद गजेन्द्रबहादुर महतले बन्दाबन्दीका समयमा प्रमुख जिल्ला अधिकारीले आफू्खुशी पास वितरण गरेको र सांसदहरुलाई समेत कठिनाइ सिर्जना गरेको गुनासो गरे ।

सांसद आशाकुमारी विकले गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जातीय विभेद उत्पन्न हुने गरी अभिव्यक्ति दिएकाले थापालाई कारवाही गर्न माग गरिन् । बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा छलफल शुरु भएको छ ।

प्रतिक्रिया