आज एकैदिन ५७ जना कोरोना सङ्क्रमित थपिए, नेपालमा संख्या १९१ पुग्यो

admin

काठमाडौं, ३० बैशाख : नेपालमा मंगलबार एकै दिन ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र पर्सामा ३९ जना सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी बारामा १ जना भेटिएका छन् । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ सय ९१ पुगेको छ ।

यसअघि सोमबार १३४ जना सङ्क्रमित भेटिएका थिए । सहप्रवक्ता डा. अधिकारीका अनुसार सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते सङ्क्रमण देखिएको थियो ।

अहिलेसम्म ३३ जना कोभिड-१९ का सङ्क्रमित निको भई घर फर्किसकेका छन् । सहप्रवक्ता डा. अधिकारीले भारतबाट आउने क्रम बढेसँगै शङ्कास्पद व्यक्तिलाई परीक्षण गर्दा यति धेरैको संख्यामा सङ्क्रमित पहिलोपटक सङ्क्रमित भेटिएको बताए ।

‘‘पहिलाभन्दा अहिले भारतबाट मानिस पनि आवतजावत गरिरहेका छन्”, उनले भने, ‘‘क्वारेन्टाइनमा बसेकालाई पनि हामीले बढी परीक्षण गरिरहेको हुनाले सङ्क्रमति फेला परेका हुन् ।” उनले धमाधम सङ्क्रमित भेटिरहेकाले निगरानी बढाउन आवश्यक रहेको बताए ।

मन्त्रालयले अहिले दैनिक एक हजारमा पिसिआर र करिब दुई हजारमा आरडिटी परीक्षण गरिरहेको छ । मुलुकभरि पिसिआर १९ ठाउँमा र आरडिटी ७७ जिल्लामा भइरहेको छ ।

प्रतिक्रिया