रु तीन लाखको तरकारी सडकमा

राष्ट्रिय समाचार समिति

खस्यौली, २ जेठ :रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ स्थित सिसैंमा किसानले उत्पादन गरेको करीब रु तीन लाख बराबरको तरकारी आज सडकमा फालेका छन् ।

सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिकाको सीमा क्षेत्र कुश्मामा नगरपालिकाले आवतजावत गर्न रोक लगाएपछि आक्रोशित किसानले करीब २० क्वीन्टल विभिन्न तरकारी लुम्बिनी सडकमा फालेको स्थानीयवासी गणेश पासीले जानकारी दिनुभयो ।

सो गाउँपालिका वडा नं १ स्थित बेलवा तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छ । किसानले बेलवाबाट बेच्नका लागि बुटवल लैजाँदै गरेको तरकारी बाटामा फालेको पासीले बताउनुभयो । किसानले आफूले उत्पादन गरेको बोडी, घिरौँला, तीते करेला, भन्टा, काँक्रालगायत तरकारी सडकमा फालेका थिए ।

रुपन्देहीको गैडहवा गाउँपालिकालगायत ठाउँमा पनि कोरोना सङ्क्रमित फेला परेपछि सैनामैना र शुद्धोधनको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउने सहमतिअनुसार आवतजावत गर्न दिइएको थिएन । सैनामैना ४ का वडाध्यक्ष धनबहादुर कार्कीले वडास्तरीय दलीय सहमतिमा आवतजावतमा रोक लगाएको उल्लेख गर्दै शुद्धोधन १ का वडाध्यक्षसँग पनि सहमति भएको बताउनुभयो । स्थानीय प्रहरी, वडास्तरका राजनीतिक दल, वडाध्यक्षलगायतका स्थानीयवासीको सहमतिमा आवतजावतमा रोक लगाएको बताइएको छ ।

गैडहवा गाउँपालिकामा आवतजावतमा रोक लगाएपछि बेलवाका किसानलाई स्थानीय सूर्यपुरा हुँदै भैरहवा जाने बाटामा पनि अवरोध भएको छ । ‘किसानले उत्पादन गरेको तरकारी बारीमा नै कुहिने अवस्था आएको छ’, स्थानीयवासी दुर्गानिधि पन्तले भन्नुभयो । विभिन्न गाउँपालिका र नगरपालिकासहित रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या २८ पुगेका छन् । शुद्धोधन कृषि तथा सहकारीमन्त्री घनश्याम भुसालको निर्वाचन क्षेत्र पनि हो ।

प्रतिक्रिया