रहेनन् वरिष्ठ गीतकार रत्नशमशेर थापा

admin

काठमाडौं, १५ जेठ : वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन भएको छ ।

ढाडको नसासम्बन्धी समस्याबाट पीडित उनको बिहीबार मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनी ‘ठट्टैमा यो बैँस जान लाग्यो…’, घुम्तीमा नआउ है…, ‘एक मुठी चामल पाऊँ न हजुर’, ‘हाँस्छौँ गाउँछौंँ वसन्त ल्याउँछौँ प्रेमको अनुरोधमा’, ‘सल्किन्छ यो नगरमा ठट्टैमा जिन्दगानी’, ‘बिहानीका तारा हामी सर्वहारा’, ‘त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ…’ आदि सयौँ लोकप्रिय गीतका रचनाकार हुन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले गीतकार थापाको निधनले गीत-सङ्गीतका क्षेत्रमा अपूरणीय क्षति भएको बताए । उनका श्रीमती र दुई छोरा छन् ।

नेपाल सङ्गीत नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले थापा पाँच दशकदेखि निरन्तर लेखिरहने गीतमै समर्पित र स्वाभिमानी स्रष्टा भएको बताउँदै उनीप्रति श्रञ्द्धाजलि व्यक्त गरे ।

गीतकार राजेन्द्र थापाले नेपाली आधुनिक नेपाली गीतको खुट्टामध्येका रत्नशमशेर र किरण खरेल रहेकामा एक खुट्टा अन्त्य भएको प्रतिक्रिया दिए ।

विसं २०१८ मा त्रिचन्द्र कलेजमा पढ्दा पढ्दै नारायणगोपाल र रत्नशमशेर मिलेर भारतको कोलकत्तामा गएर ‘स्वर्गकी रानी’ एकैपटक ग्रामोफोन (चक्का) मा रेकर्डिङ गराएको स्मरण गरे ।

त्यसपछि ती गीतहरु रेडियो नेपालमा प्रसारित हुन थालेका थिए । रत्नशमशेरका गीतमा नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङ, तारादेवी, शिवशङ्कर, प्रेमध्वज प्रधान आदि लोकप्रिय सङ्गीतकार गायकले सहकार्य गरेका थिए ।

उनी काठमाडौंको कमलपोखरीमा बस्दै आएका थिए । कोरोना भाइरसको परीक्षण गरेपछि उनको अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया