विवाद सार्दै नेकपा

admin

काठमाडाैं, ३० असार: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै साम्य भएको छैन। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्ष आआफ्नै अडानमा कायम छन् ।

त्यसकारण स्थायी कमिटी बैठक रोकिन पुगेको छ। प्रधानमन्त्रीबाट ओलीलाई राजीनामा गराइछाड्ने रणनीतिमा दाहाल पक्षीय नेता अडिग छन् भने दुवै पद नछाड्ने ओली मनस्थितिमा पनि कुनै फेरबदल देखिन्न। दुवै अध्यक्ष परिस्थितिलाई आफूअनुकूल बनाउन लागिपर्दा स्थायी कमिटी बैठक मात्र होइन, आन्तरिक विवाद समाधान पनि पर सार्ने काम भएको छ।

बाढीपहिरोसहित प्राकृतिक विपत्सँगै नेकपाभित्र देखिएको आन्तरिक विवाद तत्कालका लागि टरेजस्तो देखिएको छ। प्रधानमन्त्री ओलीका विश्वासपात्र एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा पार्टीभित्र देखिएको संकट तत्कालका लागि टरेको उल्लेख गरेका छन्।

‘पार्टी एकताको चुँडिन लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरूको सकारात्मक साथसहयोग रहने विश्वासका साथ म बुटवल फर्किएको छु। पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै संवादको प्रक्रिया अघि बढाउन भूमिका खेल्नुहुने सबै धन्यवादका पात्र हुनुहुन्छ,’ पोखरेलले फेसबुकमा लेखेका छन्, ‘पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षाबाट नै उज्यालो भविष्य सुनिश्चित हुन्छ। पार्टी एकताको रक्षाका लागि एकताको मूलमर्म र भावनाको अनुशरण गरौं। निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन।’

पोखरेलले भनेजस्तो पार्टीको आन्तरिक विवाद सुल्झनेभन्दा सार्ने काम मात्र भएको असन्तुष्ट पक्षीय एक नेताले दाबी गरे।

बैठक स्थगित गर्नु र विवाद केही समयका लागि पर सार्नुलाई समाधानका रूपमा बुझ्न नहुने तर्क गर्दै ती स्थायी कमिटी सदस्यले भने, ‘उहाँ (ओली) ले विगतका गल्तीकमजोरी स्वीकार गरेर दुईमध्ये एक पद त्याग नगरेसम्म पार्टीभित्रको विवाद रहिरहन्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू