सुन तोलामा ९६ हजार नाघ्यो

admin

काठमाडौं, ११ साउन : सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड राखेको छ । तोलामा ५ सय रुपैयाँ बढेर सुनको मूल्य (आज) आइतबार तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार अहिलेसम्मकै महँगो तोलाको ९६ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको हो । सुनको मूल्य महँगो हुँदा किनबेच ठप्प जस्तै भएको छ ।

अहिले फाट्टफुट्ट मात्रै कारोबार हुने गरेको व्यवसायीले बताएका छन् । यस्तै चाँदी आइतबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ५५ रुपैयाँ पुगेको छ ।

नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजारमा कारोबार भएको सुनको मूल्य लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसयता उकालो लागेको सुनको मूल्यले रेकर्ड बनाउँदै गएको छ । नयाँ रेकर्ड बनाउँदै असारमा तोलाको ९० हजार नाघेको सुनको मूल्य असार अन्तिममा ९२ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो ।

साउन लागेपछि थोरै घटबढ भएको सुनको मूल्य गएको बुधबारदेखि भने दिनदिनै नयाँ रेकर्ड बनाउने क्रममा छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नै सुनको मूल्य बढ्न थालेको थियो ।

कोरोनाको संक्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य महँगो हुँदै गएको महासङ्घ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताएका छन् । 

प्रतिक्रिया