काठमाडौं, १२ साउन : सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ । गएको बुधबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै आएकामा (आज) सोमबार पनि त्यही क्रमलाई निरन्तरता दिएको छ ।
एकैदिन तोलामा १२ सय रुपैयाँ बढेर सुनको मूल्य सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
गएको शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८ सय, बिहीबार ९४ हजार ५ सय र बुधबार ९४ हजार रुपैयाँ तोकिएको थियो । यस्तै तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य महँगो भइरहेको महासङ्घ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।