पाटन अस्पतालका ३० कर्मचारीद्वारा राजीनामा

admin

ललितपुर : पाटन अस्पतालमा बेतलबी बिदा माग्ने, राजीनामा दिने कर्मचारीको संख्या बढ्न थालेको छ । डेढ महिनायता ३० जनाले राजीनामा दिएका र १० जना बेतलबी बिदामा बसेका छन् ।

अहिले अस्पताल प्रशासनलाई कर्मचारीको बिदा मिलाउन र राजीनामा स्वीकृत गर्ने/नगर्नेबारे निर्णय लिन हम्मे परेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए । ‘समस्या परेका बेला राजीनामा स्वीकृत नगर्ने भन्ने नीति छ,’ उनले भने, ‘राजीनामा स्वीकृत नभए पनि खबरै नगरीकन बिदामा बस्नेको संख्यासमेत बढ्न थालेको छ ।’

उनका अनुसार स्वास्थ्यकर्मीले राजीनामा दिनुका कारण अस्पतालमा कर्मचारी संक्रमण हुने दर बढेको, समाजबाट दुर्व्यवहार सहनुपरेको, घरपरिवारले जागिर छोड्न दबाब दिएकोलगायत उल्लेख गर्ने गरेका छन् । अस्पतालमा १५ सय जना कर्मचारी छन् ।

सरकारले पाटनलाई कोभिड अस्पताल तोकेपछि त्यहाँ उपचार गराउन आउने बिरामीको संख्यामा उल्लेख्य कमी आएको छ । यसले अस्पतालको आम्दानी घटेपछि सञ्चालन गर्नै मुस्किल परेको अस्पतालले जनाएको छ । अहिले स्वास्थ्यकर्मी र कर्मचारीलाई मासिक तलब खुवाउनै धौधौ पर्न थालेको अस्पताल बताउँछ ।

अस्पताल प्रशासनका अनुसार सबै कर्मचारीलाई तलब वितरण गर्न मासिक ६ करोड रुपैयाँ आवश्यक पर्छ । निर्देशक डा. शाक्यले अस्पताल सञ्चालन गर्न सरकारले छुट्टै बजेट विनियोजन गर्ने व्यवस्था नभएको बताए । ‘अस्पताल आफैंले आम्दानी गरेर कर्मचारीलाई तलबभत्ता खुवाउनुपर्छ,’ उनले भने, ‘अहिलेको यो समस्या सरकारले कोभिड केन्द्रित अस्पतालका रूपमा तोकेपछि आएको हो ।’ उ

नले समस्याका बारेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई पटक–पटक जानकारी गराउँदा पनि समयमा सम्बोधन नगरिएको गुनासो गरे । ‘चैतअघि दैनिक ओपीडीमा २२ देखि २६ सय जनासम्म बिरामी आउँथे । अहिले ६ सयमा झरेको छ,’ उनले भने, ‘दैनिक भर्ना हुनेको संख्या २५ देखि ३० जनामा सीमित भएको छ ।’

उनले अस्पतालसँग भएको रकमबाट ७ महिना थेगिसकेको बताए । ‘अहिले निकै गाह्रो परेको छ,’ उनले भने । अस्पतालले सरकारसँग कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र कर्मचारीलाई तलब खुवाउन रकम माग गरेको छ । सरकारले अस्पताललाई संक्रमित बिरामीको उपचार खर्च भने उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिडको कारणले पाटन अस्पताल मात्र नभई मुलुकका अन्य अस्पताल पनि समस्यामा रहेको बताए । तैपनि पाटनका लागि बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयमा पहल भइरहेको उनले बताए ।

प्रतिक्रिया