काठमाडौं, १६ असोज : सरकारले ५ प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिएका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राजधानी राख्ने सहमति भएको हो ।
राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।
शंकर पोखरेललगायतका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने पक्षमा थिए भने महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा थिए । गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा मुख्यमन्त्री पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गरेका थिए ।
बागमती प्रदेशको राजधानीबारे पनि केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो । प्रदेश-५ को राजधानीबारे पनि बागमती प्रदेशकै जस्तो शैली अपनाइने भएको छ । दुई अध्यक्षबीच दाङको भालुवाङमा स्थायी राजधानी बनाउने सहमति भएको र त्यसअनुसार प्रदेशमा निर्देशन गएको नेकपा उच्च स्रोतले जनाएको छ ।
‘केही दिनभित्रै राजधानी टुंग्याउने तयारी भएको छ’ नेकपा केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए । राप्ती नदी नजिकै रहेको भालुवाङ बजार दाङको राप्ती गाउँपालिकामा पर्छ । यो प्रदेश मध्ये भागमा रहेको भालुवाङबाट पहाडी जिल्ला प्युठान, अर्घाखाँची र रोल्पासमेत जोडिन्छन् भने कपिलवस्तु सीमामै पर्छ ।