अब सवारीसाधन हराए अनलाइनबाटै निवेदन र उजुरी दिन सकिने

admin

काठमाडौं, १८ असोज : अब सवारीसाधन हराएको तथा चोरी भएको निवेदन अनलाइनमार्फत दिन पाइने भएको छ । यो सेवाको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोख्रेलले आइतबार उद्घाटन गरेका छन् ।

ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउँदै सेवाग्राहीका लागि थप सहज र सरल बनाउन तथा कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस्तो सेवाको सुरु गरिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

प्रहरी प्रधान कार्यालयको सहयोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको सवारीसाधनबारे उजुरी र निवेदन अनलाइनबाटै दिन सक्ने व्यवस्था गरेको हो । यसको लागि लस्ट एन्ड फाउन्ड म्यानेजमेन्स सिस्टम नामक सफ्टवेयरको प्रयोग भएको छ ।

अब सवारीसाधन हराएकाले निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको छ, निवेदन दिन सवारीधनीले ट्राफिक प्रहरीको वेबसाइट  traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ ।

वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेशन भित्र रहेको लस्ट ​भेइकल एप्लिकेसन  (Lost Vehicle Application) मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि सेवाग्राहीले एप्लिकेशनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेशन नम्बर प्राप्त गर्न सक्नेछन् र सेवाग्राहीले अनलाइनबाटै सवारीसाधन फेला परे/नपरेको थाहा पाउन चेक एप्लिकेशनमा क्लिक गरी दिएको एप्लिकेशन नम्बर, पूरा नाम थर र सवारी नम्बर राखेर चेक गर्नुपर्नेछ ।

यसअघि लाइसेन्स, ब्लु बुक र पर्मिट हराएको निवेदन र सिफारिस लिन ट्राफिक महाशाखा धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । असोज ५ गतेदेखि सुरु भएको । ost Document Application अनलाइन सेवाबाट नौ सय ४९ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन् ।

प्रतिक्रिया