काठमाडौं, १८ असोज : ठुलो संख्यामा सैनिक कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि प्रधानमन्त्री निवासमा नयाँ टिम खटाइएको छ । प्रधानमन्त्रीको सुरक्षामा कार्यरत २८ जना सैनिकलाई संक्रमण पुष्टि भएपछि नेपाली सेनाले सो टिमलाई बदली गरेको हो ।
संक्रमित सैनिक कर्मचारीलाई नागार्जुन गरपालिका-१ स्थित इचगुंको आइसोलेशनमा राखिएको छ । सो आईसोलेशनको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ ।
शनिबार साँझ प्रधानमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका समेत गरी ६७ जना सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएको थियो ।
बालुवाटारमा खटिएका प्रहरीका १९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरीमध्ये धेरैलाई प्रहरी अस्पतालको आइसोलेशनमा राखिएको छ । उपत्यकामा घर भएका प्रहरी कर्मचारी होम आइसोलेशनमा छन् ।
संक्रमित प्रहरीको स्थानमा प्रहरीचाहिँ आफ्नो टिम बदली गरेको छैन् । बालुवाटारमा पहिले खटिएका जनशक्तिबाट नै नियमित ड्युटी म्यानेज गरिएको प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतले बताए । उनले भने-‘ड्युटी नियमित छ, आवश्यक परेमा बदली हुन्छ ।’
सशस्त्र प्रहरी बलका १८ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितलाई बलम्बुस्थित एपिएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता (डिआइजी) राजु अर्यालकाअनुसार संक्रमित सुरक्षाकर्मीको ठाउँमा नयाँ टिम खटाइएको छ ।
उनले भने- ‘बालुवाटारमा पिसिआर रिपोर्ट नेगेटिभ भएको नयाँ टिम बदली गरेका छौं ।’ स्वास्थ्य मन्त्रालयले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ ।