बुटवल, असोज २३ : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि स्वाव परीक्षण गराएका मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव पवनकुमार कुँवरले जानकारी दिए।
बिहीबारदेखि स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री केसीले शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गराएका थिए। स्वास्थ्यमा सामान्य समस्या देखिएकाले मन्त्री होम आइसोलेसनमा बसेको कुँवरले बताए। यता मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशका मन्त्रीहरु तथा सदस्यहरु जोखिममा देखिएका छन्।
गत शुक्रबारदेखि शुरु भएको प्रदेशसभा बैठक मंगलबार मात्रै सकिएको थियो। प्रदेशको नाम र राजधानीका विषयमा लामो छलफल भएका कारण अन्य सांसद पनि जोखिममा देखिएका छन्।
प्रदेशसभा सँगै नेकपा संसदीय दलको बैठक समेत नियमित चलिरहेका कारण मुख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी समेत संक्रमणको जोखिममा रहेका छन्।