काठमाडाैं : सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी कार्यढाँचा सार्वजनिक गरेको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्ने कुरालाई कार्यढाँचाले व्यवस्थित गरेको बताए।
‘कार्य ढाँचाले विद्यालयको जोखिम नभएका स्थानहरुमा, जोखिम कम हुँदै गएका स्थानहरुमा स्थितिको आकलन समीक्षा गरेर स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्ने यी दुईवटै कुरालाई व्यवस्थित गरेको छ।
यसमा नेपाल सरकार मन्त्रिपरिषद्ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई कार्यढाँचा जारी गर्न निर्देश गरेको र जोखिम कम भएका नभएका स्थानहरुमा उपयुक्त मोडालिटी अपनाएर विद्यालय सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको सन्दर्भमा स्थानीय सरकारबाट प्राप्त भएका सुझावहरुको आधारमा स्थितिको समीक्षा गरेर स्थानीय तहबाट निर्णय हुन सक्नेगरी कार्यढाँचा जारी गरिएको हो,’ उनले भने।
विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाको अधिनमा रहेर निर्णय गर्ने असधका स्थानीय तहलाई हुने पनि उनले बताए। त्यसको कार्यान्वयनको अनुगमनसमेत स्थानीय तह आफैंले गर्नसक्ने शर्माले बताए।
कुन विद्यालय कहिले खोल्ने भन्दा पनि कुन कुन अवस्थामा विद्यालय खोल्न सकिन्छ र कुन अवस्था भयो भने विद्यालय बन्द गर्नुपर्छ भन्ने कुरा कार्यढाँचामा स्पष्ट पारिएको उनले जानकारी दिए। यस्तै एकपटक विद्यालय खोलेपछि फेरि बन्द गर्नुपर्ने अवस्था भयो भने के कस्तो प्रक्रिया अपनाउनुपर्ने भन्ने सम्बन्धमा पनि कार्यढाँचाले स्पष्ट गरेको शर्माले बताए।