काठमाडौं, मंसिर ८ : विशेष अदालतमा उपस्थित हुनुभएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुट्नुभएको छ । ललिता निवास प्रकरणमा उहाँ सोमबार विशेष अदालतमा उपस्थित हुनुभएको थियो ।
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीको इजलासले उहाँलाई साधारण तारेखमा छाड्न आदेश दिएको विशेष अदालतका प्रवक्ता एवं उप–रजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिनुभयो ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व भूमिसुधारमन्त्री जोशीसहित एक सय ७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
बालुवाटारको ललिता निवासकाे जग्गा भूमाफियाले विभिन्न प्रभावशाली व्यक्तिलाई प्रभावमा पारेर बेचविखन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।