जाडो छल्न नेपाल आइपुगे १ सय ५० प्रजातिका चरा

admin

काठमाडौं ,मंसिर १८ : जाडो छल्न नेपालमा १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चराको आगमन भएको छ । चिसो छल्न र खानेकुराको खोजीका लागि हरेक वर्ष नेपालमा हिउँदे आगन्तुक चरा आउने गरेका छन् । धेरैजसो चरा असोज कार्तिकमा नै आइसकेका र बाँकी रहेका चरा पनि अहिले लगभग आइसकेका चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो ।

नेपाल आएका यी चराहरु ६ महिनासम्म बस्ने छन् । नेपालमा चीनबाट धेरै चरा आउने गरेको छ । यस्तै, पूर्वी युरोप, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउलगायतका ठाउँबाट पनि चिसो छल्न चराहरु नेपाल आउने गरेका बरालले बताउनुभयो ।

उहाँका अनुसार जाडो छल्न तथा आहारा खोज्न चराहरु ४ देखि ५ हजार माइल पार गरेर नेपाल आउने गरेका छन् । कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहित वन, सिमसार क्षेत्र र खेतबारीमा यी चरा रमाउने गरेका छन् । हिउँदे आगन्तुक चराका लागि नेपालमा बासस्थान र खानाको अभाव नहुने चराविद्ले बताएका छन् ।

प्रतिक्रिया