काठमाडौं, २६ पुस : सरकारले कोरोना भाइरस पत्ता लगाउन गरिने पीसीआर परीक्षण घटाउँदै लगेको छ । केही समयअघि दैनिक १५ हजारभन्दा धेरैको स्वाब पीसीआर विधिमार्फत परीक्षण हुने गरेकामा अहिले परीक्षण चार हजारभन्दा तल झरेको छ । आइतबार जम्मा तीन हजार तीन सय ९९ नमुनाको पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म १९ लाख ८२ हजार दुई सय ४६ जनाको पीसीआर परीक्षण भएका छन् । बितेको २४ घण्टामा तीन हजार तीन सय ९९ जनाको परीक्षण गर्दा दुई सय ५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६४ हजार सात सय ८० पुगेको छ ।
आइतबार थप पाँच सय १३ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ५८ हजार चार सय ४१ पुगेको छ । बितेको २४ घण्टामा थप पाँच जनाको ज्यान गएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार नौ सय १७ पुगेको छ । आइतबारसम्म आइसोलेशनमा रहने सक्रिय संक्रमितको संख्या चार हजार चार सय २२ छ भने क्वरेण्टीनमा रहनेको संख्या दुई सय ५७ छ ।