हामी नै नेकपा हौँ, सूर्य चिह्न हामीले पाउँछौँ : नेता नेम्वाङ

admin

काठमाडौं, २८ पुस : गएको पुस ५ गते नेकपा विभाजन भएपछि आधिकारिकता निरूपणको विषय निर्वाचन आयोगमा पुगेको छ । यसै विषयमा नेकपाका नेता सुवास नेम्वाङले पार्टीको आधिकारिकता ओली समूहले प्राप्त गर्ने जिकिर गरेका छन् । मंगलबार प्रचण्ड-नेपालले आयोगका पदाधिकारीलाई भेटेर बिनाआग्रह, पूर्वाग्रह दलसम्बन्धि ऐन र विधानका आधारमा विषय निरुपण गर्न सुझाव दिएका थिए ।

अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पक्ष दुवैले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग समक्ष निवेदन दिएका छन् । आयोगले दुवै पक्षको प्रक्रिया नपुगेको भन्दै थप दाबी पनि मगाएको छ । तर, नेम्वाङले ओली नेतृत्वको नेकपाले नै पाउने जिकिर गरेका छन् ।

“हामी नै नेकपा हौँ, सूर्य चिह्न हामीले पाउँछौँ भन्नेमा हामी विश्वस्त छौँ,” नेम्वाङले भने । ओली पक्ष बुधबार आयोगसमक्ष आफ्ना कुरा राख्ने र थप दाबी प्रस्तुत गर्ने तयारी गरिरहेको बताइएको छ । प्रचण्ड-नेपाल समूहले ४३४ सदस्यीय केन्द्रीय कमिटीमा बहुमत आफ्नो पक्षमा रहेको जिकिर गरेको छ । ओली समूहले भने केन्द्रीय सदस्यको संख्या बढाएर १ हजार ५०१ पुर्‍याएको छ ।

प्रतिक्रिया