काठमाडौं, १४ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले कारोना भाइरस (कोभिड-१९) विरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहि सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छिन् । कोरोनाविरुद्धको खोप शुभारम्भका अवसरमा बुधबार सन्देश दिँदै राष्ट्रपतिले उनीहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति पनि सम्मान व्यक्त गरेकी हुन् ।
खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालका तर्फबाट धन्यवाद दिँदै उनले विश्वका सबै देशमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको सुस्पष्ट मान्यता रहेको जनाएकी छिन् । भारतले अनुदानमा उपलब्ध गराएको दश लाख डोज खोपको अभियान बुधबारदेखि सुरु भएको छ ।
‘कोभिड-१९ को विश्वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ । यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनुपरेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन् । यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन । यो महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भइ उत्पादनसमेत हुन थालेको छ । यसबाट विश्वभरि नयाँ आशा र विश्वासको सञ्चार भएको छ’, सन्देशमा भनिएको छ ।