आउँदो असार अन्तिमसम्ममा सकिने, गल्छी-त्रिशूली सडकखण्डको काम

admin

रसुवा, २२ माघ : राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी-मैलुङ सडकखण्ड अन्तर्गत गल्छी-त्रिशूली खण्डको काम आउँदो असार मसान्तभित्र सकिने भएको छ । अहिलेको गतिमा काम हुन सके र अदालतको स्टे अर्डर हटेको खण्डमा काम सकिने छ । गल्छी-त्रिशूली खण्डको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

यो खण्डमा कालोपत्र गर्ने र कटिङ गर्ने कार्य चलिरहेको छ । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाकाअनुसार यसखण्डको सबैभन्दा धेरै र अप्ठ्यारो क्षेत्रको कल्चौडे भीर कटिङको काम सकिएको छ । अहिले बुधसिंहघाटको भीर कटिङ सुरु गरिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए ।

‘अहिले गतिमा काम भए चालु आर्थिक वर्ष २०७७/७८ भित्र यसखण्डको काम सकिने छ’, उनले भने, ‘यसका लागि पिपलटारदेखि ढुंगे सडकखण्डको अदालतको स्टे अडर हट्न पर्छ ।’ काम रोक्नका लागि स्टे अर्डर भएको क्षेत्रमध्ये ३ किलोमिटर क्षेत्रमा पहिलो लेयरको कालोपत्र सकिएको छ ।

योजनाले दिएको जानकारीअनुसार अहिलेसम्म २३ किलोमिटर कालोपत्रे भएको छ । रसुवागढी नाका जोड्ने छोटो दूरीको रूपमा रहेको पहिलो खण्डमा ४६ किलोमिटर कालोपत्रे गरिने छ । चालु आर्थिक वर्ष २०७७/७८ मा ४१ किलोमिटर कालोपत्र गरिने योजनाले जनाएको छ ।

बाँकी ५ किलोमिटर सडकको आउँदो आर्थिक वर्षभित्र कालोपत्रको काम गरिने छ । रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको लागि तीन खण्डमा विभाजन गरेर काम गरिने छ । जसअन्तर्गत पहिलो खण्डको स्तरोन्नतिको काम अहिलेसम्म करिब ६७ प्रतिशत भएको छ । २०७५ जेठ ६ गते मैलुङ-स्याफ्रुबेँसी सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो ।

त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो । अहिले यस क्षेत्रमा सडकमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ । चालु आर्थिक वर्षमा केही भाग ग्राभेलको काम सकाइने उनले जानकारी दिए ।

यो सडक बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ-स्याफ्रुबेँसीको दूरी २९ किलोमिटर मात्रै छ ।

प्रतिक्रिया