काठमाडौं, २३ माघ : शरीरको जुनसुकै भागमा पनि क्यान्सर हुन सक्छ । शरीरमा अर्बौं संख्यामा कोषिकाहरु बन्ने र बिग्रने क्रम चलिरहेको हुन्छ । यसैक्रममा विभिन्न प्रकारका विकारको असरले गर्दा कोषिकाहरु नियन्त्रण बाहिर पुगेर बढ्न थाल्छन्, त्यही अवस्थालाई क्यान्सर भनिन्छ । पहिला सरुवा रोगका कारण धेरै व्यक्तिको ज्यान जान्थ्यो भने अहिले नसर्ने क्यान्सरलगायतका रोगका कारण मानिसको ज्यान जाने क्रम बढ्न थालेको छ ।
पहिले पहिले मानिसहरु क्यान्सर ‘नो एन्सर’ अर्थात् क्यान्सर निको हुँदैन भन्थे । तर अहिले सुरुकै चरणमा उपचार गर्ने हो भने क्यान्सर पूर्णरुपमा निको हुन्छ । पछिल्लो समय क्यान्सरको उपचार पद्दति पनि धेरै राम्रो भइसकेको छ । उपचारमा ढिलाइ हुँदा भने निको हुन गाह्रो हुन्छ । शरीरको कुन भागमा क्यान्सर भएको छ र कुन चरणमा पुगेको छ भन्ने कुराले पनि निको हुने र नहुनेमा फरक पार्छ ।
क्यान्सरको कुनै लक्षण नदेखिए पनि बेलाबेला स्वास्थ्य परीक्षण गरिरहनुपर्छ । त्यसो गर्दा क्यान्सर लागेको छ भने पनि पहिलो चरणमा नै थाहा हुन्छ र उपचार गर्दा ठिक पनि हुन्छ । त्यसो गर्न नसकेमा पनि क्यान्सरको शंका लाग्ने बित्तिकै अस्पताल गएर परीक्षण गरिहाल्नुपर्दछ । शरीरमा हुने विभिन्न क्यान्सरमध्ये फोक्सोमा हुने क्यान्सर सबैभन्दा खतरनाक हुन्छ ।
फोक्सोमा लागेको क्यान्सरको उपचार गर्न पनि कठिन हुन्छ भने निको हुन पनि गाह्रो हुन्छ । यस्तै पाठेघर, स्तनलगायतका क्यान्सरलाई पनि जटिल नै मानिन्छ । क्यान्सर लागिसकेपछि कुन अंगको क्यान्सर के कारणले लाग्यो भन्न चाहिँ गाह्रो हुन्छ । तर विश्वका अरु देश र नेपालमा पनि सबैभन्दा धेरै देखिएको क्यान्सर फोक्सोको क्यान्सर हो ।
फोक्सोको क्यान्सरका कारण ज्यान गुमाउनेको संख्या पनि अन्य अंगमा क्यान्सर भएर ज्यान गुमाउनेको सख्या भन्दा धेरै छ । धूमपानका कारण फोक्सोमा क्यान्सर हुने खतरा धेरै हुन्छ । क्यान्सर हुने कारण पत्ता लागेको छैन । तर पनि ५० प्रतिशत क्यान्सर खानाका कारण हुन्छ । ३५ प्रतिशत धूमपानका कारण क्यान्सर हुने गर्छ ।
सागपात नखाने, बाहिर राखिएको तयारी खानेकुरा धेरै खाने, चिसो पेय पदार्थ धेरै खाने नियमित व्यायाम नगर्ने र प्रदूषित वातावरणका कारण पनि क्यान्सर हुने सम्भावना धेरै हुन्छ । क्यान्सर भएर उपचार गर्नुभन्दा क्यान्सर हुनै नदिनु राम्रो हो । खानपान र जीवनशैलीमा ध्यान दिन सकेमा क्यान्सर हुनबाट धेरै हदसम्म बच्न सकिन्छ ।
वंशाणुगत कारणले गर्दा पनि क्यान्सर हुने सम्भावना हुन्छ । जस्तै: बुबा आमालाई क्यान्सर भएको छ भने छोराछोरीलाई पनि हुने सम्भावना हुन्छ । यस्तै महिलाहरुमा स्तन र ओभरीको क्यान्सर पनि वंशाणुगत कारणले धेरै हुने गरेको छ । क्यान्सरबाट बच्न धूमपान तथा मद्यमान गर्नु हुँदैन । सुर्तीजन्य पर्दाको सेवन गर्नु भएन । सुर्ती, खैनी खानाले मुखको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
नियमित व्यायाम गर्नुपर्छ । धेरै तनाव लिनु हुँदैन । सागसब्जी धेरै खाने गर्नुपर्छ । दिसा वा पिसाबको तालिकामा फेरबदल भएजस्तो लागेमा पनि क्यान्सर भएको हुन सक्छ । नियमित सरसफाइमा ध्यान दिनुपर्छ । प्रदूषणबाट सकेसम्म बच्ने प्रयास गर्नुपर्छ । मोटोपनाले गर्दा पनि क्यान्सर हुने सम्भावना हुने भएकाले खानपानको तौरतरिका मिलाउन पर्छ । (नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा कार्यरत डाक्टर गिसुप प्रसाईँ)