काठमाडौं, २३ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिको वातावरण बिथोल्न नदिने चेतावनी दिएका छन् । नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसाको राजनीतिलाई सरकारले रोक्ने बताएका हुन् ।
‘मांसहारी आन्दोलन भनेर उनी (प्रचण्ड)ले चिकेन चिल्ली खान्छु भन्नुभएको होइन,’ प्रधानमन्त्रीले भने, ‘म भन्न चाहन्छु अब नरभक्षी आन्दोलनका दिन गए, हिंसा कसैले मच्चाउन सक्दैन । नेपालका शान्तिपूर्ण दिन सुरु भएका छन् ।’ नेकपाको सभालाई रोक्नका लागि नेपाल बन्द गरिएको उल्लेख गर्दै उनले सर्वाहाराका नाममा आन्दोलन गर्छु भन्नेहरुले तरकारी बेच्ने व्यवसायी र ट्याक्सी जलाएकोमा आपत्ति प्रकट गरे ।
उनले बन्दमा भएको गरिबको क्षतिलाई सरकारले व्यहोर्ने प्रतिबद्धता जनाए । नेकपा अध्यक्षसमेत रहेएका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको पार्टी नै कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको उल्लेख गरे । ‘कम्युनिस्ट पार्टीको मात्र होइन देशकै मूल पार्टी हो,’ जनसभाको उपस्थितिले त्यसलाई पुष्टि गरेको बताउँदै उनले भने, ‘यो पार्टी नै देश बनाउने, स्वाधिनताको रक्षा र प्रयोग गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो । लोकतन्त्रका लागि सात दशक संघर्ष गरेको यही पार्टी हो ।’
प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए । उनले अघि भने, जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’
आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले बताए । दुई चार हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीले बताए । यो त कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्क्रिनहरु राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने बताए ।
सोहीक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको समूह सक्कली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको दाबी गरेका छन् । ओलीले काठमाडौंको सबैभन्दा ठूलो ठाउँ छान्दा पनि मानिसहरू नअटेको भन्दै यसबाट पार्टीको आधिकारिकताको फैसला भएको दाबी गरे । अझै पनि कतिपयमा मानिसमा कुन समूह सक्कली हो भन्ने अलमल रहेको भन्दै ओलीले भने, ‘जहाँ तपाईँ हामी छौँ, कम्युनिस्ट पार्टी मात्रै नभएर देशकै मूल पार्टी त्यही हो ।’
ओलीले शुक्रबार (आज) काठमाडौंमा इतिहासकै ठूलो सभा भएको दाबी गर्दै सभामा आउन नदिन अनेक प्रयास गर्दा पनि मानिसहरू आएको बताए । उनले अब देशमा नरभक्षी आन्दोलन नहुनेसमेत बताए । नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकामा जनसभा सुरु हुनुअघि काठमाडौंका विभिन्न ठाउँबाट र्याली निकालिएको थियो ।
प्रधानमन्त्री ओलीले आफूले सरकारले नेतृत्व गरेपछि सडक कालोपत्रे, सुरुङ मार्ग निर्माण, कृषि, सिँचाइ, रोजगारलगायतका क्षेत्रमा ऐतिहासिक काम भएको जानकारी दिए । सरकार बनेको तीन वर्षसम्म संवैधानिक आयोगहरुमा नियुक्ति गर्न रोकिएको प्रधानमन्त्रीको भनाइ थियो । ‘तर एक दुई जना मान्छेले पार्टी छाड्नेवित्तिकै आयोगले पूर्णता पाएको छ,’ उनले भने, ‘आयोग बनेको विरोधमा नेपाल बन्द गरियो ।’ आफूले राजतन्त्र फर्काउने घोषणा गर्ने भन्दै दुस्प्रचार भएको प्रधानमन्त्रीले बताए ।
उक्त कार्यक्रमा प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै आँसु झारेका छन् । सम्बोधन गर्ने क्रममा ओली भावविव्हल भएका थिए । गला अवरुद्ध भएपछि ओली केहीबेर चुप लागेका थिए । उनले त्यसपछि भने, ‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसे । उनले गला अवरुद्ध गर्दै भन्नपुगे, ‘आँखाबाट आँसु पो आयो ।’ उनले चीसोले आँसु आएको भने । ओलीको आँखाभरी आँसु आएपछि सहयोगीहरु मञ्चमै पुगेका थिए । उनले आँसु पुछेका थिए ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि सत्तारुढ नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् । प्रचण्ड–नेपाल समूहले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ भने ओली समूहले सरकारको बचाउमा कार्यक्रमहरु गरिरहेको छ । बिहीबार प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेको थियो ।