मकवानपुर, २५ माघ : सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि गाडी चल्न थालेको छ । सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो ।
मकवानपुरको सीमभञ्ज्याङको सडकमा हिउँ जमेका कारण आइतबार बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौँडा र काठमाडौंबाट छुटेका सवारी साधन सीमभञ्ज्याङ क्षेत्रमा रोकिएका थिए । सडकमा हिउँ जम्नाका साथै आइतबार बिहान तुषारो जमेपछि त्रिभुवन राजपथमा जोखिम बढेको सडक विभागका कर्मचारी गणेश खत्रीले जानकारी दिए ।
हिउँ पन्छाएर सडक खुले पनि पूर्ण होशियारीका साथ गाडी चलाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालकलाई अनुरोध गरेको छ ।