रसुवा : नेपाल र चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी मङ्गलवारदेखि फेरि सञ्चालन भएको छ । भोटेकोशी बाढीले क्षति पुर्याएकाे मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन हप्ताका लागि याे नाका बन्द गरेको थियो ।
नाका सञ्चालनमा आएसँगै मङ्गलवार बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।
एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाशक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकाले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ । चीनबाट अब व्यापारिले थोरै मात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक बन्द नभएमा ती सामान चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ ।
भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि मात्र सुरु गरिने हुँदा एक दुई दिन समय लाग्ने र त्यसपछि मात्र काठमाण्डाै भित्रिने बताइएको छ । आयातित सामानमा धेरैजसाे स्याउ, तयारी पोसाक, जुत्ता–चप्पल, मास्क तथा जलविद्युत् आयोजनाका यान्त्रिक सामान रहेको बताइएको छ ।