काठमाडौं, २८ माघ : निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ । सम्भवतः (आज) बुधबार टेण्डर आह्वान गर्ने तयारी भैरहेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिएका छन् ।
प्रतिनिधिसभा विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामग्री खरिदका लागि टेण्डर आह्वन गर्न लागिएको उनको भनाइ छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटबारे सर्वोच्चको फैसला नआइसकेको र नेकपाभित्रको विवाद समाधान नभैसकेको अवस्थामा आयोगले चुनावी तयारीलाई तिब्रता दिएको हो ।
यस्तै आयोगले चुनावको आचारसंहिता तयार गरिसकेको छ भने सबै राजनीतिक दलसँग छलफल गरेर चुनाव प्रयोजनका लागि दल दर्ता प्रक्रिया सुरु गर्ने तयारी गर्दैछ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पनि आयोगका पदाधिकारीले तोकिएकै समयमा चुनाव गराउने प्रतिवद्धता जनाएका थिए ।
प्रतिनिधि सभा विघटनसँगै आउँदो बैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा भएको छ । पहिलो चरणमा बैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरण २७ गते ३७ जिल्लामा चुनाव गराउने सरकारको तयारी रहेको छ ।
बैशाख १७ गते कर्णाली, लुम्बिनी, प्रदेश २, गण्डकीका ४० जिल्लामा तथा दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने सरकारले निर्णय गरेको छ । सरकार र निर्वाचन आयोगले तयारी भैरहेको भने पनि चुनावबारेको अन्योल भने कायमै छ ।