काठमाडौं, १४ चैत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताउनुभएको छ ।
बृहत नागरिक आन्दोलनले काठमाण्डौमा गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला गरेपछि तत्कालै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने भए पनि प्रस्तावपछिको राजनीतिक निकासबारे प्रष्ट नहुँदा ढिलाइ भएको बताउनुभयो ।
उहाँले अब अविश्वासको प्रस्तावको लागि धेरै दिन कुर्न नसकिने बताउनुभयो । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले साथ दिएमा ओली सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता हुने प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री ओली प्रतिगामी बाटोमा लागेको र उहाँ सत्तामा रहुञ्जेल संविधान, गणतन्त्र लगायतका उपलब्धि पनि गुम्न सक्ने खतरा रहेको प्रचण्डको दाबी छ ।
कार्यक्रममा जसपाका नेता महन्थ ठाकुरले अहिलेको समस्याको मुख्य कारण नेकपाभित्रकै विवादबाट आएकोले यसमा जसपा मुछिन उचित नभएको बताउनुभयो ।
आफ्ना पार्टीका नेताहरुको रिहाइ लगायतका माग सरकारसमक्ष राखेको र माग पूरा भएपछि जसपाले अविश्वासको प्रस्ताव या नयाँ सरकारको बारेमा छलफल गर्न सकिने बताउनुभयो ।