ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो

admin

एजेन्सी, २० चैत : ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ । ७२ जना घाइते भएका छन् । ताइवानको ह्वालियन सहरको सुरुङभित्र रेलले ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको बीबीसीले जनाएको छ । ट्रकमा ठोक्किएको रेल लिगबाट चिप्लिएर सडकमा पुगेको थियो ।

दुर्घटनाबाट रेलको आठ ओटा डब्बामध्ये पाँच ओटा डब्बा क्षतिग्रस्त भएको छ । ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् ।

अहिले एक सय भन्दा धेरै यात्रीलाई उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको छ । ताइवानकी राष्ट्रपति साइ इंग-वेनले घाइतेको उपचार तथा उद्धारका लागि आपतकालीन व्यवस्था लागू गरिएको जानकारी गराएको बीबीसीले जनाएको छ ।

ताइवानको यातायात मन्त्रालयले दुर्घटनालाई पछिल्लो चार दशकयताकै भयानक दुर्घटना भनेको छ । यसअघि ताइवानमा सन् २०१८ मा रेल दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने १ सय ७५ जना घाइते भएका थिए । यस्तै सन् १९८१ मा यस्तै गरी रेल दुर्घटना हुँदा ३० जनाको ज्यान गएको त्यहाँको यातायात मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया