नेपाली समाजलाई निरङ्कुशतातर्फ लैजाने खतरा बढ्यो : दाहाल

admin

काठमाडौं, २० चैत : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज निरङ्कुशतातिर जाने खतरा रहेको बताएका छन् । शुक्रबार वामपन्थी नेता स्व. माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष दाहालले प्राप्त गरिएका राजनीतिक परिवर्तनहरूलाई उल्ट्याउँदै नेपाली समाजलाई निरङ्कुशतातर्फ लैजाने खतरा बढेको बताए ।

देशभित्र र बाहिरका शक्तिहरू संवैधानिक निकायहरूसमेतको संलग्नतामा शेटिङमा लागेको भन्दै उनले संविधान, ऐन र मूल्य-मान्यताले काम नगर्ने तर शेटिङले काम गर्ने अवस्था अहिले रहेको बताए । नेपाल र नेपाली नागरिकको अधिकार र पहिचानका विरुद्ध शेटिङ भएको पनि दाहालले बताए ।

उनले भने, ‘समाज चरम निरङ्कुशतातिर जाने खतरा छ । हामी त्यसका विरुद्ध खबरदारी गरेका छौँ । अहिले तपाईँ हामीले सुन्ने गरेको शब्द एउटा छ । अलि बढी नै सुन्ने गरेका छौँ शेटिङ । देशभित्रका, बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरूको बीचमा शेटिङ हुने । नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, शेटिङले काम गर्ने । त्यो शेटिङ सबै नेपाल राष्ट्र र नेपाली नागरिकको अधिकारका विरुद्ध, पहिचानका विरुद्ध परिलक्षित हुने यो बिडम्बनाको हामीले सामना गर्नुपर्ने बडो विचित्रको स्थितिमा हामी अहिले छौँ ।’

अध्यक्ष दाहालले वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धिहरूमाथि प्रहार हुन थालेको बताए । उनले वर्तमान सरकार अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएकाले कम्युनिस्टप्रति नागरिकको भरोसा टुट्ने खतरा देखिएको बताए ।

उनले भने, ‘कम्युनिस्ट आन्दोलन र वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धिमाथि प्रहार हुन थालेको बेला छ यो । जातीय, भाषिक, वर्गीय, उन्मुक्तितिर अगाडि बढेको, लामो सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार हुन लागेको अवस्था छ । राज्य सबैभन्दा बढी सुशासन र पारदर्शिताको प्रतिक हुनुपर्ने हो । सबैभन्दा अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएको बेला छ यो । कम्युनिस्टहरूको एकता र उनीहरूप्रति नागरिकको जो भरोसा थियो त्यो टुट्ने खतरा पैदा भएको बेला छ । कम्युनिस्ट आन्दोलन भित्रैबाट सबैभन्दा वैचारिक ढङ्गले विचलन, विसङ्गति र विकृति माथिल्लो तहमा नै देखिनु, उनीहरूको नेतृत्वमा रहेको सरकार सबैभन्दा अपारदर्शी र भ्रष्ट भएका खबरहरू यत्रतत्र देखिनु आफैँमा ठूलो विडम्बना भएको छ ।’

अध्यक्ष दाहालले सडक विस्तारका नाममा सडक नजिकै भएका घरहरू भत्काएर नागरिकलाई सुकुम्बासी बनाउने अधिकार सरकारसँग नभएको बताए । नेपालका नेवार समुदायलाई राज्यले जे गरे पनि हुन्छ भन्ने ठानेर ऐतिहासिक, सांस्कृतिक वैभव र संरचनाहरूलाई विकासका नाममा मिचिदिने प्रवृत्ति बढेको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया