काठमाडौं, २० बैशाख : सरकारले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
यसअघि गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त पदमुक्त भएपछि उनीहरूको ठाउँमा पौडेल र यादवलाई नियुक्त गरिएको हो । दुवै प्रदेशमा माओवादी निकटका प्रदेश प्रमुख थिए । प्रदेश प्रमुखका कारण गण्डकीमा एमाले सरकारले मनपरी गर्न नपाएको र सुदूरपश्चिममा माओवादीको सरकारलाई सजिलो बनाइदिएको सरकारका मन्त्रीहरूले बताउँदै आएका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । त्यससँगै रिक्त पदमा मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ ।
नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ । पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन् ।
त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए । यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने भएका थिएनन् ।