काभ्रेपलाञ्चोक, २१ बैशाख : कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ। धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय बृद्ध, बनेपाका ४२ वर्षीय पुरुष र ६२ वर्षीया महिला, पनौतीकी ८० वर्षीया बृद्धा, भक्तपुरका ६२ वर्षीया महिला र ६७ वर्षीय पुरुष तथा महोत्तरी, जलेश्वरका ५० वर्षीया महिला छन्।
मण्डन देउपुरका एक पुरुषको काठमाडौँको मेडिसिटी अस्पतालमा आजै मृत्यु भएको छ। पछिल्लो घटना विवरण अनुसार कोरोना सङ्क्रमण भएको थाहा नभइ घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भइ आएकाको अस्पताल आएको एकै दिनमा मृत्यु हुने गरेको केन्द्रले जनाएको छ।