सत्ता आउँछ जान्छ, लोकतन्त्र जोगाउने व्यवहार प्रधानमन्त्रीले देखाउनुभएन : कांग्रेस

admin

काठमाडौं, २२ बैशाख : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र जोगाउने व्यवहार नदेखाएको आरोप लगाएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिकलकण्ठ पुगेका प्रधानमन्त्री ओलीको भेटपछि पत्रकारसँग बोल्दै पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले संसद्लाई छलेर ल्याएका अध्यादेशप्रति प्रधानमन्त्रीसँग गम्भीर भएर छलफल गरेको बताए।

भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग विश्वासका मतका लागि सहयोग मागेका उनले बताए। प्रधानमन्त्री ओलीले सहयोग मागे पनि आफूहरूले सहयोग गर्न नसक्ने बताएको डा. महतले जानकारी दिए।

‘सत्ता आउने जाने क्रम चलिरहन्छ। तर,लोकतन्त्रका मुल्य र मान्यताहरू मास्न नलाग्न हामीले ओलीलाई आग्रह गरेका छौं’, उनले भने, ‘लोकतन्त्रका लागि एमाले कांग्रेस वर्षेदेखि लडेकाले यसलाई जोगाउन आवश्यक रहेको बैठकमा छलफल भएको छ।’

अहिलेको सत्ताधारीको व्यवहार कांग्रेस सहकार्य गर्ने खालको नभएको डा. महतले बताए। ‘अहिले हामीले विश्वासको मतको विपक्षमा भोट हाल्ने स्पष्ट जानकारी प्रधानमन्त्रीलाई दिएका छौं’, उनले भने।

प्रतिक्रिया