लोक सेवा आयोगका पूर्वसचिव माधवप्रसाद रेग्मी अध्यक्षमा सिफारिस

admin

काठमाडौं, २६ बैशाख : पूर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको हो ।

आइतबारको बैठकमा सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभए पनि संवैधानिक परिषद्का अध्यक्षसमेत रहने प्रधानमन्त्री कपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बैठकले नियुक्ति सिफारिस गरेको हो ।

लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो । परिषद्ले अन्य कैयौँ नियुक्ति गरेको पनि तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ । रेग्मी लोक सेवा आयोगको पूर्वसचिव हुन् । रेग्मीले शाखा अधिकृतको रुपमा पनि आयोगमा काम गरेका थिए ।

लोक सेवा आयोगमा आठ वर्ष काम गरेको अनुभव संगालेको भन्दै उनले सोही आयोगको अध्यक्ष बन्न इच्छा देखाउँदै लबिङ गरेका थिए । रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् ।

प्रतिक्रिया