काठमाडौं, २ जेठ : वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाडौंको छाउनीमा रहेको सैनिक अस्पतालमा आइतबार बिहान ज्यान गएको हो । गएको १६ गते देहरादुनबाट काठमाडौं आएका उनलाई ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
कोरोना भाइरसबाट संक्रमित भए पछि उनको एक हप्तादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो । चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो । कार्किले २०७६ मा आफ्नो ८२औँ जन्मोत्सवको उपलक्षमा एकल कविता वाचन पनि गरेका थिए ।
स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विस १९९५ साल कात्तिक २२ गते जन्मिएका कार्कीको तिजको रहर आयो बरिलै, बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भने सहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन् ।
उनका गीत नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानलगायतका गायक गायिकाले गाएका छन् । विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट उनले नेपाली चलचित्रमा प्रवेश गरेका थिए । उनका श्रीमती र दुई छोरा छन् ।