काठमाडौँ, ४ जेठ : जनता समाजवादी पार्टी (जसपा)मा एकता आव्हान गरिएको संयुक्त व्यक्तव्यको मसि सुक्न नपाउँदै भद्रगोल मच्चिएको छ ।
एकता आव्हान गरिएको पत्र सार्वजनिक भए लगत्तै अध्यक्ष महन्थ ठाकुर समूहले एक पक्षीय रुपमा संसद सचिवालयलाई दलको नेता चयन भएको पत्र बुझाए पछि भद्रगोल मच्चिएको हो ।
महन्थ ठाकुर पक्षले विवादास्पद वैशाख ३० को बैठकबाट बहुमतका आधारमा महतो निर्वाचित भएको दाबी गरेको छ । नेकपा (एमाले)का नेताहरुसमेत उपस्थित भएको डोलेश्वर रिसोर्टको उक्त बैठकबाट महन्थ ठाकुर पक्षले संसदीय दलको नेता चयन गरेको कुरा सार्वजनिक गरेको थियो ।
तर, पार्टी कार्यालयमा समेत दर्ता नगरी ठाकुर समूहले मंगलबार दिउँसो संसद सचिवालयलाई पत्र लेखेको थियो । ठाकुर समूहले पठाएको पत्र संघीय संसद सचिवालयमा दर्ता नं. १३७९ मा दर्ता गरिएको छ ।
महन्थ ठाकुर समूहको पत्रप्रति आपत्ति जनाउँदै अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीको संसदीय दलको विधान नै नबनेको र नेता चयनको प्रक्रिया नै सुरु नभएको बताएका छन् । उनले संसद सचिवालयमा दर्ता भएको पत्र भ्रमपूर्णं भएको बताए ।
‘जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधान–२०७७ को धारा २८ को उपधारा (२)मा पार्टीको संघीय संसदीय दलको आफ्नै विधान हुने र उपधारा ३ मा केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्ने व्यवस्था भएकोमा हालसम्म पार्टीको संसदीय दलको विधान नबनेको र केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन पनि भएकोले व्यहोरा जानकारीका लागि अनुरोध छ’, उपेन्द्रले संसद सचिवालयलाई लेखेको पत्रमा भनिएको छ ।
संसद सचिवालयालाई महन्थ ठाकुरले लेखेको पत्र
संसद सचिवालयलाई उपेन्द्र यादवले लेखेको पत्र