कोरोनाको दोस्रो लहरले अर्थतन्त्र अनिश्चिततातर्फ थप चुनौती थपियो : गभर्नर अधिकारी

admin

काठमाडौं, ११ जेठ : गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीको दोस्रो लहरले अर्थतन्त्र अनिश्चितता बढेको हुँदा थप चुनौती थपिएको बताएका छन् । एसियन क्लियरिङ युनियन सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र बिस्तारै पुनरुत्थानतर्फ उन्मुख हुँदै गरेको अवस्थामा दोस्रो लहर आएकाले देशको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चितातर्फ धकेलिएको बताए ।

अर्थतन्त्रको पुनरुत्थानको लागि थप प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्दै जाने योजनालाई नेपाल राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी गभर्नर अधिकारीले दिए । तरलताको सहजीकरण, ब्याजदर कटौती, अतिरिक्त चालु पूँजी कर्जाको सुविधा, कर्जाको पुनर्तालिकीकरण, कर्जाको साँवा-ब्याज भुक्तानीको समयसीमा बढाउने जस्ता नीतिगत सहुलियत उपलब्ध गराइएको जानकारी उनले दिए ।

गभर्नर अधिकारीले विद्युतीय भुक्तानी प्रणालीलाई विस्तार गर्दै नगदरहित कारोबारलाई स्थापित गर्ने दिशातर्फ अग्रसर भइरहेको जानकारी दिँदै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, क्यूआर कोड, कनेक्ट आईपीएस लगायतका विद्युतीय माध्यमबाट उत्साहजनक कारोबार भएको बताए । रिजर्भ बैंक अफ इण्डियाले भर्चुअल बैठक आयोजना गरेको हो । एसियन क्लियरिङ युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी नौ देशका केन्द्रिय बैंकहरू आबद्ध छन् ।

प्रतिक्रिया