बुबा गुमाएका आदर्श मिश्रा भन्छन्, मेरो बाबाले चलाएको स्कुल र तिमीले चलाएको देश हेर प्रधानमन्त्री !

admin

काठमाडौं, १२ जेठ : स्ट्यान्ड-अप कमेडियन आदर्श मिश्राले अस्पतालको लापरवाहीका कारण आफूलाई जन्मदिने बुबा गुमाउनुपरेको पिडा सामाजिक सञ्जालमार्फत् सेयर गरेका छन् । ‘हस्पिटल चहार्दाचहार्दै मिर्गौलापीडित मेरो बुबा अकालमै बित्नुभयो’, आदर्श मिश्राले भनेका छन्, ‘यसको जिम्मेवार वीरगञ्जको नेसनल मेडिकल कलेज र नारायणी अस्पताल हुन् ।’ उनी अहिले बुबाको किरिया गर्न बसेका छन् ।

आदर्शका बुबा विनोद मिश्राको मंगलबार बिहान निधन भएको हो । बुबा विनोद मिश्राको निधन भएपछि मिश्राले आफ्नो युटुब च्यानलमा एउटा भिडियो सार्वजनिक गर्दै अस्पतालको लापरवाहीका कारण डायलसिस पूरा समय हुन नपाउँदा बुबालाई बचाउन नसकेको बताएका छन् । चार वर्षदेखि मिर्गौलाका बिरामी उनले सातामा दुई पटक डायलाइसिस गराउनुपर्थ्यो ।

यसका लागि उनी वीरगञ्जस्थित नेसनल मेडिकल कलेज जाने गरेका थिए । तर, पछिल्लो पटक उनलाई मेडिकल कलेजले कोरोना भाइरसको पीसीआर रिपोर्ट ल्याए मात्र डायलाइसिस गरिदिने बतायो । उनको स्वाथ्यस्थिति बिग्रँदो थियो । त्यसपछि विनोदलाई छोरा आदर्शले नारायणी अस्पताल लगे । विनोदमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । नारायणी अस्पतालले कोभिड पोजिटिभ मिर्गौलापीडितको डायलाइसिस गराउँदै आएको थियो ।

‘नारायणी अस्पतालमा काम गर्ने नर्स दिदीले मलाई झुक्याउनुभयो । उहाँले दुइटै मेसिन बिग्रेको छ भन्नुभयो तर एउटा मात्र बिग्रेको रहेछ । यसबारे सूचना निकालेको छ भन्नुभएको थियो तर सूचना निकालिएकै थिएन,’ आदर्शले भने । डाक्टरले ४ घण्टा डायलाइसिस गराइदिनू भन्ने निर्देशन दिए पनि ती नर्सले ३ घण्टा मात्रै गरिदिएको आदर्शले बताए ।

‘उहाँ (नर्स) त १ घण्टा छिट्टै घर पुग्नुभयो होला तर मेरो बुबा घर फिर्न पाउनुभएन’, आदर्श भावुक बने, ‘बुबा गुमाउनुपर्दा म जति धेरै दुःखी छु, त्योभन्दा ज्यादा नेसनल मेडिकल कलेज (एनएमसी) र नारायणी अस्पतालको रवैयाले मलाई दुखाएको छ ।’ नारायणी अस्पतालका कोभिड फोकल पर्सन सरोज रोशन दासले भने, ‘आदर्शले डायलाइसिसपछि बिरामी बुबालाई अन्त नलगेको भए हुन्थ्यो । म आफैँ लागेर उहाँको हेरचाह गरिरहेको थिएँ । ज्वरो घटाउन सकिन्थ्यो ।’

उनले आफूहरूको तर्फबाट कुनै कमजोरी नभएको दाबी पनि गरे । चार वर्षदेखि आफ्नो बुबाको डायलाइसिस गराउँदै आएको र प्रत्येकपल्ट एनएमसीलाई ३५ सय रुपैयाँका दरले पैसा बुझाएको आदर्शले बताए । ‘तर, हेर्नोस् न, हामी अप्ठेरोमा हुँदा उपचार गर्न सक्दैनौँ भनेर फर्काइदियो । हामीलाई हप्कीदप्की गर्‍यो ।’

यस्तै भिडियोमा उनले भनेका छन्, “बाबा हुनुहुन्न अब। मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार चाहिँ नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी सरकारी अस्पताललाई मान्छु। किनभने दुई हप्ता अगाडि बाबालाई डायलासिसमा लैजाँदा एचपीओ टू छ भनेर यहाँ डायलासिस हुँदैन भनेर एनएमसीबाट निकालिदिएको हो । चार वर्ष बाबाले एनएमसीमा डायलासिस गराउनु भएको हो । प्रति डायलासिसको सरकारले ३५ सय दिन्छ । कमाउने बेलामा तिमीहरु कमाउने, पेसेन्टलाई गाह्रो भएको बेलामा धपाइदिने।”

मिर्गौला फेल बुबाले डायलासिसको लागि हप्ताको दुई पटक स्कुटरमा बसेर अस्पताल पुग्नुपर्ने अवस्था भएपनि आफ्नो जिम्मेवारीबाट कहिल्यै पछाडी नहटेको बताएका छन् । नवल स्कुलको प्रिन्सिपल रहेका आफ्ना बुबालाई स्मरण गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश व्यक्त गरेका छन् ।

उनले भनेका छन् । “मेरो बाबा गएको हो डायलासिस हप्ताको दुई पटक स्कुटरमा बसेर। तर पनि मेरो बाबाले चलाएको स्कुल हेर र तिमीले चलाएको देश हेर एकचोटी । अनि लाज लाग्दैन भने मलाई भन् । काम गर्न दिएनन् मलाई भन्छौं ? काम गर्न मन कहाँ छ तिमीलाई ? ‘त्यो पर्दैन’ भन्दै बस्ने ? भेडाहरु पछाडि जम्मा गरेका छौ । त्यही हुल बोकेर जतिखेर इन्डियाको विरोधमा बोलेर । व्याक अफ इन्डिया भनेपछि एक हुल नेपाली पछाडि लागि हाल्छन् । त्यो सेन्टिमेन्टमा जित्यौ तिमीले चुनाव । मधेशी नेताभन्दा बेटर भनेका मात्र हौ, राम्रो नेता त तिमी होइनौ । इत्ती पनि राम्रो नेता होइनौ तिमी ।’

‘मैले मेरी आमालाई भन्न सकिनँ । आमा अझै पनि डिप्रेसनको औषधी खाइरहनुभएको छ । मैले आमालाई नारायणी अस्पतालमा भेन्टिलेटरको व्यवस्था गरेको छु, बुबालाई लिएर जानुपर्छ भनेर झुटो बोले । अस्पताल लैजाने भनेर मैले बुबाको शवलाई दाहसंकार गर्न लिएर गएँ ।’ आदर्शले आफूलाई धेरैले आफ्नो नामबाट बुबा चिनिएको भन्दै यसमा गर्व गर्नुपर्ने बताए पनि बुबाको नामबाट आफू चिनिएको बताएका छन् ।

उनले भनेका छन्, ‘मलाई मानिसहरु विनोद मिश्राकै छोरा भनेर चिन्छन् । मेरो बुबाले चलाएको स्कुल अहिले विजोग छ । उहाँले मृगौला फेल भएपनि सफलताका साथ स्कुल चलाउनुभएको थियो । केपी ओली एकपटक तिमीले चलाएको देश र मेरो बुबाले चलाएको स्कुल हेर । तिमी त भेडाहरुलाई पछाडि हुल लगाएर हिडेका छौं । भारतको विरोध गरेर चुनाव जित्यौं । तिमी राम्रो नेता होइन केपी ओली ।’ आदर्शले आफ्ना बाबुको मृत्युको दोष नेशनल मेडिकल कलेज र नारायणी अस्पताललाई लगाएका छन् । काजकिरिया सकिएपछि आफू त्यसविरुद्ध लड्ने उनले बताएका छन् ।

प्रतिक्रिया